शैलेश साह, पोखरिया
पर्साको पोखरिया नगरपालिका–४ स्थित कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई सञ्चारकर्मी धर्मेन्द्र चौरसियाले पोसाक तथा शैक्षिक सामग्री वितरण गरेका छन्।
चौरसियाले आफ्ना छोरा सुरज चौरसियाको २०औँ जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययनरत छात्राहरूलाई पोसाक तथा विभिन्न शैक्षिक सामग्री वितरण गरेका हुन्। जन्मदिनमा हुने खर्चलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थीलाई सहयोग गरिएको चौरसियाले बताए।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद रौनियार, पोखरिया नगरपालिका–४ का वडा अध्यक्ष लक्ष्मण साह कानु, सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाका डीएसपी सञ्जय रेग्मी, सञ्चारकर्मी शैलेश साह कानु, समाजसेवी रामकलाश प्रसाद चौरसिया, प्रदीप प्रसाद चौरसिया, शिक्षक मोहम्मद गनी अन्सारी र अवधेश प्रसाद चौहानलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सहभागीहरूले जन्मदिनको अवसरमा गरिने व्यक्तिगत खर्चलाई सामाजिक सेवामार्फत विद्यार्थीको शैक्षिक आवश्यकतामा उपयोग गर्नु सकारात्मक र प्रशंसनीय कार्य भएको बताए।
उनीहरूले यस्ता सामाजिक तथा सहयोगात्मक गतिविधिले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्नुका साथै समाजमा सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना बढाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीयको सहभागिता रहेको थियो।









COMMENTS