शैलेश गुप्ता 26 असार वीरगन्ज,
वीरगन्जबासीको आस्थाको केन्द्र तथा ऐतिहासिक धार्मिक धरोहर श्री गहवामाई मन्दिरको 'माई विशाल रथ यात्रा' लाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गराउन वीरगन्ज महानगरपालिका, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूले तयारीलाई तीव्रता दिएका छन्। आगामी असार 32 गते आयोजना हुने रथ यात्राको व्यवस्थापन चुस्त बनाउन वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा महानगरको सभाहलमा उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको हो।
बैठकमा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी संस्थान, रथ यात्रा व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।
बैठकले रथ यात्राको मार्ग, सम्भावित लाखौँ श्रद्धालुको सहभागिता तथा धार्मिक संवेदनशीलतालाई मध्यनजर गर्दै व्यवस्थापनका लागि विभिन्न निकायबीच जिम्मेवारी बाँडफाँड गरेको छ।
सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा नगर प्रहरी संयुक्त रूपमा परिचालन हुनेछन्। रथ यात्रा व्यवस्थापन समितिसँग समन्वय गर्दै सुरक्षा घेरा, भीड नियन्त्रण तथा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइने निर्णय गरिएको छ।
सरसफाइ तथा फोहोर व्यवस्थापनका लागि वीरगन्ज महानगरपालिकाले आवश्यक जनशक्ति र उपकरण परिचालन गर्नेछ। निजी क्षेत्र, आयोजक समिति तथा विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा यात्रा मार्गको नियमित सरसफाइ र फोहोर संकलन गरिनेछ।
खानेपानी व्यवस्थापनअन्तर्गत असार महिनाको गर्मीलाई मध्यनजर गर्दै यात्रा मार्गका विभिन्न स्थानमा शुद्ध पिउने पानी वितरण गरिनेछ। यसका लागि खानेपानी संस्थान, निजी क्षेत्र तथा विभिन्न सामाजिक संस्थाबीच समन्वय गरिने भएको छ।
विद्युत सेवा निर्बाध बनाउन नेपाल विद्युत प्राधिकरणले रथ यात्रा मार्गमा विद्युत लाइनको विशेष निरीक्षण, मर्मतसम्भार तथा निगरानी गर्नेछ, ताकि कुनै पनि प्रकारको विद्युत अवरोध वा दुर्घटना नहोस्।
त्यस्तै, दूरसञ्चार सेवा प्रभावकारी बनाउन नेपाल टेलिकमलगायतका सेवा प्रदायकलाई भीडका कारण नेटवर्कमा समस्या नआओस् भन्ने उद्देश्यले आवश्यक प्राविधिक तयारी गर्न निर्देशन दिइएको छ।
धार्मिक पवित्रता तथा सांस्कृतिक मर्यादा कायम राख्न रथ यात्रा क्षेत्रको प्रत्यक्ष अनुगमन तथा स्वच्छताको जिम्मेवारी आयोजक समितिले नै सम्हाल्ने निर्णय गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले गहवामाई रथ यात्रा वीरगन्ज मात्र नभई समग्र मधेश प्रदेशकै धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्व भएकाले यसको सफल आयोजनामा महानगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सम्बन्धित सबै सरकारी तथा गैरसरकारी निकायलाई तोकिएको जिम्मेवारी समयमै र प्रभावकारी रूपमा पूरा गर्न निर्देशन दिनुभयो।
रथ यात्रा व्यवस्थापन समितिले पनि धार्मिक महोत्सवलाई मर्यादित, सुरक्षित र सफल बनाउन सम्पूर्ण वीरगन्जबासी, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था तथा सञ्चारकर्मीलाई सक्रिय सहयोग र सहभागिताका लागि हार्दिक अपिल गरेको छ।




COMMENTS