शैलेश गुप्ता 9 असार पोखरिया, पर्सा,
पर्सामा सरकारी अनुदानमा उपलब्ध गराइने रासायनिक मल कालोबजारी गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय पोखरिया र इलाका प्रहरी कार्यालय कालिकामाईको संयुक्त टोलीले शुक्रबार साँझ करिब ५ बजे पर्साको कालिकामाई गाउँपालिका–५ भेडियारी निवासी बिरेन्द्र प्रसाद चौरसियालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चौरसियाले सरकारी अनुदानको युरिया मल संकलन गरी अवैध रूपमा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। अनुसन्धानका क्रममा चौरसियासहित १७ बोरा युरिया मल बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय पर्साबाट कालोबजारी सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।
प्रहरीले सरकारी अनुदानमा उपलब्ध गराइने कृषि सामग्रीको दुरुपयोग तथा कालोबजारी नियन्त्रणका लागि निगरानी बढाइएको समेत जनाएको छ।




COMMENTS