पर्साको पोखरियामा ह्युमन लभ च्यारिटी फण्डको आयोजनामा विद्यार्थीहरूमा शिक्षा, सकारात्मक सोच, नेतृत्व क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले मोटिभेशनल कार्यक्रम तथा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका प्रमुख सल्लाहकार मुकेश पटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा मोटिभेशनल स्पिकर दिवेश कुमार गुप्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा मनौर अहमद, नसरोदिन अन्सारी, जितेन्द्र राम, रामप्रसाद थारु, नवलेश रामलगायत शिक्षक, बुद्धिजीवी, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुआत संस्थाका उप–कोषाध्यक्ष बिकास कुमार साहको स्वागत मन्तव्यबाट भएको थियो। उनले शिक्षा समाज परिवर्तनको प्रमुख आधार भएको उल्लेख गर्दै अनुशासन, सकारात्मक सोच, नैतिक मूल्य तथा समाजसेवाको महत्वबारे प्रकाश पारेका थिए। साथै विद्यार्थीहरूलाई निरन्तर मेहनत, लगनशीलता र असल चरित्रमार्फत सफलता हासिल गर्न प्रेरित गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको मोटिभेशनल सत्रमा प्रमुख अतिथि गुप्ताले लक्ष्य निर्धारण, समय व्यवस्थापन, आत्मविश्वास, सकारात्मक सोच तथा सफल जीवन निर्माणका विविध पक्षबारे प्रेरणादायी विचार व्यक्त गरेका थिए। उनका भनाइले विद्यार्थीहरूमा नयाँ उत्साह र ऊर्जा थपिएको सहभागीहरूले बताएका छन्।
यसैबीच आयोजित अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा श्री नौगावा माध्यमिक विद्यालय, चेर्गहा प्रथम, श्री मंगल माध्यमिक विद्यालय, भिस्वा द्वितीय, भेडीहारी माध्यमिक विद्यालय तृतीय तथा श्री अजिज मियाँ माध्यमिक विद्यालय, धिबिनी चतुर्थ स्थान हासिल गर्न सफल भएका छन्।
त्यसैगरी श्री जिल्ला उचाङल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरिया पाँचौँ, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भिखम्पुर छैटौँ तथा श्री काली प्रसाद लाखे माध्यमिक विद्यालय, लङ्गडी सातौँ स्थानमा रहेका छन्।
आयोजकका अनुसार कार्यक्रमले विद्यार्थीहरूमा ज्ञान अभिवृद्धिसँगै आत्मविश्वास, नेतृत्व क्षमता, तार्किक सोच, प्रतिस्पर्धात्मक भावना तथा सकारात्मक दृष्टिकोण विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यस्ता कार्यक्रमले समाजमा शैक्षिक जागरण र युवाहरूमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने अतिथिवर्ग, शिक्षक, अभिभावक, पत्रकार, समाजसेवी, विद्यार्थी तथा संस्थाका सम्पूर्ण सदस्यहरूप्रति ह्युमन लभ च्यारिटी फण्ड परिवारले आभार व्यक्त गरेको छ। संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा मानव कल्याणका क्षेत्रमा यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।








COMMENTS