अजाज अन्सारी / रौतहट
जापानको क्योटोस्थित क्योटो कम्प्युटर गाकुइन (KCG) मा सूचना प्रविधि (आईटी) अध्ययनरत रौतहटको यमुनामाई गाउँपालिका–१ निवासी राजु महतो (दिगम्बर महतो नुनिया) ले नेपालका लागि दुई कृत्रिम बौद्धिकता (AI) आधारित मोबाइल एप विकास गरेका छन्। कुनै कम्पनी, एजेन्सी वा टोलीको सहयोगबिना एक्लै निर्माण गरिएका EduPath AI र Thagi Satark नेपालमै विकसित पहिलो प्रकारका AI एप भएको दाबी गरिएको छ।
यी दुवै एप एन्ड्रोइड, वेब तथा विन्डोज प्लेटफर्ममा उपलब्ध छन्। एपहरू पूर्ण रूपमा निःशुल्क, नेपाली भाषामा तथा अफलाइन प्रयोग गर्न सकिने गरी निर्माण गरिएका छन्।
विदेश अध्ययनको तयारी गरिरहेका नेपाली विद्यार्थीलाई लक्षित गर्दै विकसित EduPath AI लाई नेपालको पहिलो AI Study Abroad एपका रूपमा प्रस्तुत गरिएको छ। यस एपमा १.७ मिलियनभन्दा बढी शब्दको प्रमाणित अफलाइन सामग्री समावेश गरिएको छ। साथै ५० भन्दा बढी देशको अध्ययन निर्देशिका, AI काउन्सेलर, सरकारी जागिरसम्बन्धी जानकारी, IELTS, JLPT, PTE, TOEFL र TOPIK लगायतका परीक्षाको तयारी सामग्री, छात्रवृत्ति मार्गदर्शन, विश्वविद्यालय निर्देशिका तथा नेपाली समाचार स्रोतहरू समेटिएका छन्।
राजु महतोका अनुसार नेपाली युवाहरूमा विदेश अध्ययनको सपना भए पनि सही सूचना र मार्गदर्शनको अभावले अवसर गुमाउने अवस्था रहेको छ। EduPath AI ले त्यही समस्या समाधान गर्न सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरेका छन्।
त्यसैगरी Thagi Satark लाई नेपालको पहिलो AI Fraud Awareness एपका रूपमा विकास गरिएको हो। डिजिटल तथा परम्परागत ठगीविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले निर्माण गरिएको यस एपमा नेपालमा प्रचलित ३० भन्दा बढी प्रकारका ठगीका विवरण, ७७ जिल्लाको जानकारी, कानुनी मार्गदर्शन, आपतकालीन हेल्पलाइन नम्बर, ठगी रिपोर्ट गर्ने सुविधा तथा विभिन्न सचेतनामूलक सामग्री समावेश गरिएको छ।
महतोले डिजिटल ठगीका घटनाहरू दिनप्रतिदिन बढिरहेको अवस्थामा नागरिकलाई सुरक्षासम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउनु आवश्यक रहेको बताए। Thagi Satark त्यसै दिशामा गरिएको एउटा प्रयास भएको उनको भनाइ छ।
दुवै एप प्रयोग गर्न कुनै शुल्क, सदस्यता वा लुकेका अतिरिक्त शुल्क आवश्यक पर्दैन। एपहरूमा विज्ञापन तथा In-App Purchase समेत नराखिएको विकासकर्ता महतोले जानकारी दिएका छन्।
हाल जापानस्थित KCG मा आईटी अध्ययनरत महतोले यसअघि नेपालका पूर्वप्रधानमन्त्री Madhav Kumar Nepal तथा पूर्वमन्त्री Bharat Prasad Shah का आधिकारिक वेबसाइटसहित विभिन्न विद्यालय, सहकारी संस्था तथा व्यक्तिहरूका दर्जनौं वेबसाइट निर्माण गरिसकेका छन्।
विद्यालय जीवनमा उनले ३२ वटा क्विज प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए भने लगातार चार वर्ष विद्यालय तथा कलेजस्तरीय चेस प्रतियोगितामा च्याम्पियन बनेका थिए। नेपालका विद्यार्थी तथा आम नागरिकलाई लक्षित गरी प्रविधिमार्फत उपयोगी सेवा प्रदान गर्ने उनको प्रयासलाई सकारात्मक रूपमा हेरिएको छ।




COMMENTS