शैलेश गुप्ता १० असार पोखरिया
पर्साको पोखरिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ५१ लाख ८० हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न ११औँ नगरसभामार्फत नगरपालिकाले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।
पोखरिया नगरपालिकाको सभाहलमा आयोजित नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शेखर कोइरालाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका थिए। नगरसभाको उद्घाटन नगरप्रमुख प्रद्युम्न प्रसाद चौहानले गरेका थिए भने कार्यक्रम उनकै अध्यक्षतामा सम्पन्न भएको थियो।
नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख चौहानले पोखरिया नगरपालिकाले पछिल्ला वर्षहरूमा विकास निर्माणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरे। उनले राजनीतिक दल, जनप्रतिनिधि तथा कर्मचारीबीचको समन्वयका कारण विकास निर्माणका कामले अपेक्षित गति लिएको बताए।
नगरप्रमुख चौहानका अनुसार पोखरियामा धार्मिक, शैक्षिक तथा प्रशासनिक पूर्वाधार विकासका विभिन्न परियोजनाहरू सञ्चालनमा रहेका छन्। शिव मन्दिर निर्माण, पोखरिया प्रादेशिक अस्पतालको स्थापना, मालपोत तथा नापी कार्यालयको सञ्चालन, पोखरिया उच्च माध्यमिक विद्यालयको भवन निर्माण तथा महोबनी माध्यमिक विद्यालयको भवन निर्माण कार्य अगाडि बढिरहेको उनले जानकारी दिए।
उनले इलाका प्रशासन कार्यालय स्थापनाका लागि आवश्यक पहल भइरहेको उल्लेख गर्दै नगर विकासका कार्य तीव्र गतिमा अगाडि बढेकाले निकट भविष्यमा जग्गाधनीहरूलाई लालपुर्जा वितरण गर्न सकिने विश्वास व्यक्त गरे। पोखरिया जिल्लाकै दोस्रो सदरमुकामका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै नगरको समग्र विकासका लागि सबै राजनीतिक दल तथा सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
प्रस्तुत नीति तथा कार्यक्रमअनुसार आगामी आर्थिक वर्षमा स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, पर्यटन, सिँचाइ, भौतिक पूर्वाधार विकास, महिला तथा बालबालिका सशक्तीकरण, खेलकुद प्रवर्द्धन, ज्येष्ठ नागरिक सम्मान तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ। नगरपालिकाले नागरिकको जीवनस्तर उकास्ने, रोजगारका अवसर सिर्जना गर्ने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेखर कोइरालाले नगरपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै विकास निर्माणका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
नगरसभाको प्रारम्भमा वडा नं. १ का वडाध्यक्ष प्रमोद गिरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा कार्यपालिका सदस्य, नगरसभा सदस्य, अधिकृत कौशलकिशोर झा, लेखापाल राजवीर चौरसिया, अधिकृत विजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र मिश्र, आईटी अधिकृत अरविन्द द्विवेदी, स्वास्थ्य शाखाका शिवकुमार पटेल, प्रशासन प्रमुख मनोजकुमार साह लगायत कर्मचारी, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन नरेन्द्र साहले गरेका थिए। नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफलसमेत गरिएको थियो। सहभागीहरूले प्रस्तुत बजेटले पोखरिया नगरपालिकाको दिगो विकास, आर्थिक समृद्धि तथा नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
११औँ नगरसभाबाट सार्वजनिक गरिएको बजेटले आगामी आर्थिक वर्षमा नगरपालिकाको विकास निर्माण, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा समावेशी विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।




COMMENTS