शैलेश गुप्ता पोखरिया, २० असार
पर्साको पोखरिया नगरपालिका–४ स्थित शिवाय ब्याँकेट पार्टी प्यालेसमा मनाराम फाउण्डेशनले आयोजना गरेको "मसला, तरकारीबाली तथा फलफूल उत्पादक किसानका लागि असल कृषि अभ्यास सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम" को सञ्चालन शैलीमाथि गम्भीर प्रश्न उठेको छ। कार्यक्रमको अवधि, सहभागी छनोट, प्रशिक्षण व्यवस्थापन, खाजा–खाना र खर्चको पारदर्शितालाई लिएर स्थानीय तथा सहभागीहरूले अनुसन्धान हुनुपर्ने माग गरेका छन्।
कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुने सूचना दिइए पनि प्रत्यक्ष अवलोकनअनुसार औपचारिक कार्यक्रम करिब ११ बजे मात्र सुरु भएको थियो। केही समय प्रशिक्षण सञ्चालन गरिएपछि १२ बजे भोजन गराइएको र करिब १ बजे कार्यक्रम समापन गरिएको थियो। यसरी एकदिने भनिएको कार्यक्रम करिब दुई घण्टामै सकिएपछि कार्यक्रमका लागि विनियोजित बजेटको प्रभावकारी उपयोग भएको थियो वा थिएन भन्ने प्रश्न उठेको छ।
आयोजकले १०० जना किसान सहभागी भएको जनाएको भए पनि कार्यक्रममा सहभागीमध्ये उल्लेख्य संख्या एउटै परिवारका सदस्य रहेको तथा केही नेपाल सरकारका कर्मचारीसमेत सहभागी भएको दाबी गरिएको छ। यदि यो दाबी सत्य भए वास्तविक लक्षित किसानसम्म कार्यक्रम पुगेको थियो वा थिएन भन्ने विषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने देखिन्छ।
प्रशिक्षण व्यवस्थापन पनि प्रश्नको घेरामा परेको छ। करिब १०० सहभागीका लागि कृषि ज्ञान केन्द्र पर्साबाट एक जना मात्र प्रशिक्षक खटाइएको देखिएको थियो। यति ठूलो समूहलाई छोटो समयमा प्रभावकारी रूपमा प्राविधिक प्रशिक्षण दिन सकिने वा नसकिने विषयमा कृषि क्षेत्रका जानकारहरूले समेत प्रश्न उठाएका छन्।
सहभागीहरूले खाजा र खानेपानीको व्यवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार पुरी–तरकारी मात्र खाजाका रूपमा उपलब्ध गराइएको थियो भने मिनरल वाटरको सट्टा पार्टी प्यालेसको ट्याङ्कीको पानी पिउन दिइएको थियो। भोजन पनि सबै सहभागीलाई पर्याप्त नभएको र केही सहभागीले खाना नै नपाई फर्किएको दाबी गरिएको छ।
यसैबीच, बारा र पर्सा जिल्लामा बर्ड फ्लुको संक्रमणबारे सरकारी निकायबाट सूचना सार्वजनिक भइरहेका बेला कार्यक्रममा कुखुराको मासु परोसिएको विषयलाई लिएर पनि सहभागीहरूले स्वास्थ्य सुरक्षाप्रति बेवास्ता गरिएको आरोप लगाएका छन्।
कार्यक्रममा सहभागीलाई एउटा कपडाको झोला, एउटा कपी र एउटा पेन वितरण गरिएको थियो।
यूके–० इन्टरनेशनल डेभलपमेन्टको सहकार्यमा आयोजित उक्त कार्यक्रम मनाराम फाउण्डेशनका संस्थापक राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ४ का अध्यक्ष लक्ष्मण साह कानु, महासचिव रामप्रसाद घिमिरे, सीईओ सागर केसी, एलिना प्रजापती, कार्यक्रम संयोजक ईश्वर देवकोटा, इन्जिनियर बसन्त पौडेल, चन्द्रनारायण पण्डित, कृषि ज्ञान केन्द्र पर्साका प्रशिक्षक तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
यस समाचारका लागि कार्यक्रमस्थलमै मनाराम फाउण्डेशनका पदाधिकारी तथा जिम्मेवार व्यक्तिसँग उठाइएका प्रश्नबारे प्रतिक्रिया लिन पटक–पटक प्रयास गरिएको थियो। तर संस्थाका कुनै पनि प्रतिनिधिले स्पष्ट प्रतिक्रिया दिन मानेनन्। उनीहरूले विभिन्न बहाना बनाउँदै समय बिताए पनि आरोपबारे आधिकारिक धारणा दिन अस्वीकार गरे।
उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गरी कार्यक्रमको वास्तविक खर्च, सहभागीको छनोट, प्रशिक्षणको गुणस्तर तथा अनुदान रकमको उपयोगबारे सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ। यदि सम्बन्धित निकायले छानबिन अघि बढाउँछ भने त्यसबाट कार्यक्रम सञ्चालनको वास्तविक अवस्था सार्वजनिक हुने अपेक्षा गरिएको छ।







COMMENTS