शैलेश गुप्ता
वीरगञ्ज, २५ असार।
बाँकी रहेको तलब भुक्तानीको माग गर्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले बुधबार सुरु गरेको आन्दोलन कार्यवाहक नगर प्रमुख इम्तियाज आलमसँग भएको वार्तापछि स्थगित भएको छ। सहमतिसँगै कर्मचारीहरू काममा फर्किएका छन् भने महानगरपालिकाको सेवा तथा दैनिक प्रशासनिक कामकाज पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।
स्थानीय निकाय कर्मचारी संघ (एमाले) समर्थित वीरगञ्ज महानगर एकाइका अध्यक्ष मुकेश गुप्ताको नेतृत्वमा कर्मचारीहरूले जेठ र असार महिनाको तलब तत्काल उपलब्ध गराउन माग गर्दै आन्दोलन गरेका थिए। आन्दोलनका कारण केही समय महानगरको सेवा प्रवाह प्रभावित भएको थियो।
आन्दोलनपछि कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा तथा कर्मचारी प्रतिनिधिबीच भएको छलफलमा जेठ महिनाको तलब तत्काल निकासा गर्ने सहमति भएको जनाइएको छ। बाँकी तलब पनि आवश्यक प्रक्रिया पूरा गरी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको बताइएको छ।
सहमतिपछि कर्मचारीहरूले आन्दोलन स्थगित गर्दै नियमित काममा फर्किएका छन्। त्यससँगै महानगरका सबै सेवा पुनः सुचारु भएका छन्।
कार्यवाहक नगर प्रमुख आलमले पूर्वसूचना तथा आवश्यक प्रक्रियाबिना आन्दोलन गरिनु उचित नभएको टिप्पणी गर्दै कर्मचारीका जायज माग सम्बोधन गर्न महानगर प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले तलब निकासाको प्रक्रिया अघि बढिरहेको अवस्थामा आन्दोलन हुनु आवश्यक नरहेको धारणा व्यक्त गर्नुभएको छ।
महानगर स्रोतका अनुसार यसअघि पनि रोकिएको तलब भुक्तानीका लागि पछिल्लो समय केही किस्तामा रकम निकासा गरिएको थियो। अहिले बाँकी रहेको जेठ र असार महिनाको तलबमध्ये पहिलो चरणमा जेठ महिनाको तलब उपलब्ध गराउने सहमति जुटेको हो।
वार्ताबाट समाधान निस्किएपछि महानगरको सेवा पुनः सामान्य अवस्थामा फर्किएको छ भने कर्मचारी र व्यवस्थापनबीच संवादमार्फत समस्या समाधान गर्ने सहमति समेत भएको जनाइएको छ।




COMMENTS