बिरगञ्ज। बिरगञ्ज न्युरो एण्ड जेनेरल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बिरगञ्जस्थित पशुपतिनाथ मन्दिरमा नियमित रूपमा भजन–कीर्तन गर्ने श्रद्धालु भक्तजनहरूको सुविधाका लागि फाइबर ट्रस्ट निर्माण गरेको छ।
पशुपतिनाथ मन्दिर सत्सङ्ग समितिका अध्यक्ष तपसी पासवानको विशेष आग्रहमा निर्माण गरिएको उक्त ट्रस्टले घाम, वर्षा तथा अन्य प्रतिकूल मौसमबाट श्रद्धालुहरूलाई संरक्षण प्रदान गर्दै धार्मिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
पशुपतिनाथ मन्दिर परिसरभित्र रहेको हनुमान मन्दिरअगाडि हरेक शनिबार करिब २५ देखि ३० जना महिला तथा पुरुष श्रद्धालु नियमित रूपमा भजन–कीर्तन गर्ने गर्दछन्। ट्रस्ट निर्माण भएपछि धार्मिक कार्यक्रममा सहभागी हुन थप सहज भएको अध्यक्ष पासवानले बताए।
ट्रस्ट निर्माणमा सहयोग पुर्याएको भन्दै पशुपतिनाथ मन्दिर सत्सङ्ग समितिले बिरगञ्ज न्युरो एण्ड जेनेरल हस्पिटलका सञ्चालक तथा वरिष्ठ न्युरो सर्जन डा. श्याम बाबु प्रसादलाई दोसल्ला ओढाई सम्मान गरेको थियो।
सम्मान कार्यक्रममा हस्पिटलका प्रशासक सुमन कार्की, बिन्देश्वर यादव, सत्सङ्ग समितिका पदाधिकारी तथा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समितिले हस्पिटलले धार्मिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यहरू निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरेको छ।





COMMENTS