शैलेश गुप्ता
वीरगन्ज, २६ असार।
वीरगन्ज महानगरपालिकामा भइरहेको सडक विस्तार कार्यका क्रममा नालामा थुप्रिएको भग्नावशेष (मलबा) का कारण शुक्रबार राति परेको वर्षापछि सहरका विभिन्न स्थान जलमग्न भएका छन्। मुख्य सडकका नालाहरू जाम हुँदा मुडली, त्रिमूर्ति चोक, छपकैया इदगाह चोक, पिपरा चोकलगायतका क्षेत्र डुबानमा परेका हुन्।
सडक विस्तारका क्रममा भत्काइएका घरबाट निस्किएको ढुङ्गा, इँटा, माटो तथा अन्य भग्नावशेष समयमै व्यवस्थापन हुन नसक्दा नालाको पानीको बहाव अवरुद्ध भएको महानगरपालिकाले जनाएको छ। त्यसैका कारण वर्षाको पानी निकास हुन नसकी मुख्य चोक तथा सडकहरू जलमग्न बनेका हुन्।
समस्या समाधानका लागि वीरगन्ज महानगरपालिकाले शुक्रबार बिहानैदेखि 'एक्सन टिम' परिचालन गरेको छ। एक्सन टिमका संयोजक सरफुदिन मियाको नेतृत्वमा प्राविधिक तथा सफाइकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको छ। पानी निकास सहज बनाउन तीन वटा एक्साभेटर, आधा दर्जन ट्याक्टर र एक दर्जनभन्दा बढी सफाइकर्मी परिचालन गरी नाला सफाइ तथा मलबा हटाउने काम तीव्र पारिएको छ।
संयोजक मियाका अनुसार सडक विस्तारका क्रममा घरहरू भत्काउँदा निस्किएको मलबा नालामा थुप्रिएर पानीको बहाव रोकिएको हो। अधिकांश नालाहरू जाम भएका कारण रातभर परेको वर्षाको पानी निकास हुन नसकेको उनले बताए। नागरिकलाई तत्काल राहत दिन र सहरको अवस्था सामान्य बनाउन एक्सन टिम निरन्तर रूपमा खटिएको उनको भनाइ छ।
यता, सडक विस्तारपछि सडक किनारमा छरिएका मलबा तथा लथालिङ्ग अवस्थामा रहेका बिजुली र इन्टरनेटका तारले पनि सहरको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। हिलो, जलजमाव र अवरुद्ध सडकका कारण स्थानीय बासिन्दा तथा सर्वसाधारण यात्रुले सास्ती भोग्नुपरेको छ।
महानगरपालिकाले नाला सफाइको कामलाई तीव्रता दिँदै पानीको सहज निकास सुनिश्चित गर्ने तथा प्रभावित क्षेत्रलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको जनाएको छ। स्थानीयवासीले भने सडक विस्तारसँगै नाला र मलबा व्यवस्थापनमा समयमै ध्यान नदिँदा वर्षायाममा यस्ता समस्या दोहोरिने भन्दै दीर्घकालीन समाधानको माग गरेका छन्।





COMMENTS