शैलेश गुप्ता असार ८ वीरगन्ज,
सप्तरीका पत्रकार देवराम यादवमाथि भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समिति तथा मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघद्वारा जारी छुट्टाछुट्टै प्रेस विज्ञप्तिमा गोरखापत्र दैनिकका संवाददाता तथा प्रेस स्वतन्त्रता सेनानी यादवमाथि समाचार संकलनका क्रममा भएको कुटपिटको घटनालाई निन्दनीय र प्रेस स्वतन्त्रताविरुद्धको कार्य भएको उल्लेख गरिएको छ।
महासंघका अनुसार महादेवा गाउँपालिका क्षेत्रमा समाचार संकलनका क्रममा रहेका पत्रकार यादवमाथि गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवसहितका व्यक्तिहरूले असार ६ गते आक्रमण गरेका थिए। घटनामा यादव घाइते भएका छन्।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले घटनाको कडा शब्दमा निन्दा गर्दै कुनै समाचारप्रति असहमति भए कानुनी उपचारको बाटो अपनाउनुपर्नेमा पत्रकारमाथि भौतिक आक्रमण गर्नु आपराधिक कार्य भएको जनाएको छ। समितिले घटनाको निष्पक्ष छानबिन गरी संलग्न दोषीलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
यस्तै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि पत्रकारमाथिको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा लिँदै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पत्रकारहरूलाई सुरक्षित वातावरणमा पेशागत कार्य गर्न सक्ने अवस्था सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
महासंघले घाइते पत्रकार देवराम यादवको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता घटनाले स्वतन्त्र पत्रकारितामाथि नकारात्मक असर पार्ने भएकाले पुनः नदोहरिने वातावरण निर्माण गर्न आग्रह गरेको छ।






COMMENTS