शैलेश गुप्ता २५ बैशाख, पोखरिया
पर्साको पोखरिया नगरपालिका हुँदै जाने महत्त्वपूर्ण रणनीतिक सडकअन्तर्गतको पोखरिया–श्रीसिया सडक तथा नाला निर्माण योजना लामो समयदेखि अलपत्र परेपछि स्थानीय तह र जनप्रतिनिधिहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
करिब २० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त योजना वडा नं० १ बनकटवा देखि पोखरिया बजार हुँदै वडा नं० ६ श्रीसियासम्म ५ – ५ किलोमिटर पिच सडक तथा नाला निर्माणका लागि सञ्चालनमा ल्याइएको हो। संघीय सांसदको सांसद विकास कोष अन्तर्गत २०७८ सालमा स्वीकृत भएको यो योजना २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
निर्माणको जिम्मा अंकित कन्स्ट्रक्सनका सञ्चालक सुरेश प्रसाद सेवाले लिएपछि २०७९ साल फागुन महिनादेखि काम सुरु भएको स्थानीयवासीले बताएका छन्। सुरुमा केही समय तीव्र गतिमा काम भए पनि पछिल्ला महिनादेखि निर्माण कार्य सुस्त हुँदै गएको र अहिले पूर्ण रूपमा रोकिएको अवस्था रहेको स्थानीयको भनाइ छ।
नगरपालिकाका अनुसार हालसम्म योजनाको करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ भने बाँकी काम लामो समयदेखि ठप्प छ। काम रोकिनु र ढिलासुस्ती हुनुमा ठेकेदारको लापरवाही मुख्य कारण भएको आरोप लगाइएको छ।
नगर प्रमुखले हस्ताक्षर गरेको पत्रमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराइएको छ। पत्रमा निर्माण कम्पनीको निष्क्रियताका कारण सडक योजना अलपत्र परेको उल्लेख गर्दै तत्काल हस्तक्षेप गरी काम अघि बढाउन माग गरिएको छ।
पोखरिया बजार क्षेत्र हुँदै जाने सडक अधुरै रहँदा वर्षायाममा हिलो, धुलो र पानी जम्ने समस्या बढेको स्थानीयले बताएका छन्। यसले आवतजावतमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम समेत बढाएको छ। साथै बजार क्षेत्रको व्यापार–व्यवसाय र दैनिक जीवनसमेत प्रभावित भएको गुनासो छ।
यता अंकित कन्स्ट्रक्सनका सञ्चालक सुरेश पटेलसँग बुझ्दा जनप्रतिनिधि तथा स्थानीयवासीबाट सहज रूपमा काम गर्न नदिइएको दाबी गरेका छन्। उनले ठेक्काको म्याद थप गराउन समेत खर्च लागिरहेको बताउँदै सम्बन्धित पक्षले सडक क्षेत्र खुला गरिदिए आफूले सहज रूपमा बाँकी काम सम्पन्न गर्ने बताएका छन्।
यस विषयमा सडक विभाग हेटौंडाका प्रमुख निर्देशक सँग बुझ्दा आफूले कार्यालयमा हाजिर भएको ३–४ दिन मात्र भएको बताए। उनले यस विषयमा स्थलगत रूपमा बुझ्ने उल्लेख गर्दै ठेकेदारले सहज रूपमा काम सम्पन्न गरे ठीकै भए पनि काम नगरेमा उक्त ठेक्का खारेज गरी नयाँ टेन्डर प्रक्रिया अघि बढाइने बताएका छन्।
नगरपालिकाले योजनामा भइरहेको ढिलासुस्तीप्रति जनस्तरबाट तीव्र असन्तुष्टि व्यक्त भइरहेको उल्लेख गर्दै सम्बन्धित निकायलाई तत्काल आवश्यक कारबाही गर्न आग्रह गरेको छ। साथै ठेकेदारलाई काममा सक्रिय गराई बाँकी निर्माण कार्य शीघ्र सम्पन्न गर्न समेत माग गरिएको छ।
स्थानीयवासीले विकास निर्माणका योजनामा हुने ढिलासुस्तीले सरकारप्रतिको विश्वास घट्दै गएको भन्दै अब सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएका छन्।







COMMENTS