भिस्वा र ठोरी भन्सार पुनः सञ्चालनको तयारी तीव्र, सांसद टेक बहादुर शाक्यको पहल निर्णायक
पर्सा । पर्सा क्षेत्र नं. ४ बाट निर्वाचित संघीय सांसद माननीय टेक बहादुर शाक्य को विशेष पहलमा लामो समयदेखि बन्द रहेका ठोरी भन्सार र भिस्वा भन्सार सेवा पुनः सञ्चालन गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ।
सांसद शाक्यले हालै सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायहरूसँग निरन्तर छलफल गर्दै एक महिनाभित्र सेवा पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
लामो समयदेखि बन्द अवस्थामा रहेका यी भन्सार नाकाहरू सञ्चालनमा आउँदा पर्सा जिल्लाको सीमावर्ती व्यापारमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ। विशेषगरी स्थानीय व्यापारी, किसान तथा साना उद्यमीहरूलाई सहज आयात–निर्यातको वातावरण बन्ने विश्वास गरिएको छ।
पर्साको दक्षिणी सीमामा अवस्थित प्रमुख नाका अन्तर्गत पर्ने ठोरी भन्सार र भिस्वा भन्सार वर्षौंदेखि विभिन्न प्रशासनिक तथा संरचनागत कारणले पूर्ण रूपमा सञ्चालनमा आउन सकेका थिएनन्। जसका कारण स्थानीय अर्थतन्त्र र रोजगारीमा प्रत्यक्ष असर परेको थियो।
सांसद शाक्यको पहलमा यी भन्सार सेवा पुनः सक्रिय हुने प्रक्रिया अगाडि बढेपछि स्थानीय व्यवसायी तथा सरोकारवालाहरू उत्साहित भएका छन्। उनीहरूका अनुसार भन्सार सञ्चालन भएपछि भारतसँगको सीमावर्ती व्यापार सहज हुने, कर संकलन बढ्ने र स्थानीय स्तरमै रोजगारीका अवसरहरू सिर्जना हुनेछन्।
यसैबीच, वर्षौंदेखि बन्द रहेको जन्किटोला भन्सार लाई समेत पुनः सञ्चालनमा ल्याउने विषयमा सांसद शाक्यले निरन्तर पहल जारी राखेका छन्। यसका लागि आवश्यक पूर्वाधार, सुरक्षा व्यवस्था र प्रशासनिक तयारीबारे सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको बताइएको छ।
स्थानीयवासीहरूले यो पहललाई सकारात्मक कदमका रूपमा लिँदै दीर्घकालीन रूपमा पर्सा जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा व्यक्त गरेका छन्। उनीहरूले सरकार र सम्बन्धित निकायलाई समयमै निर्णय कार्यान्वयन गर्न आग्रह समेत गरेका छन्।
विश्लेषकहरूका अनुसार भन्सार सेवा पुनः सञ्चालन भएमा सीमावर्ती क्षेत्रको व्यापारिक गतिविधि बढ्नुका साथै राज्यलाई राजस्व संकलनमा समेत उल्लेखनीय वृद्धि हुनेछ।




COMMENTS