पवन प्रसाद साह
वीरगंज । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल, जिल्ला कार्य समिति पर्साले नेपाल सरकारले विभिन्न समयमा गरेका सम्झौता कार्यान्वयन तथा आर्थिक–वित्तीय शोषणविरुद्ध न्यायको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
महाअभियानका पर्सा संयोजक शम्भु प्रसाद चौरसियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा लामो समयदेखि बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारण नागरिकमाथि आर्थिक तथा वित्तीय शोषण, अन्याय र उत्पीडन हुँदै आएको उल्लेख गरिएको छ। श्रमजीवी तथा निम्न वर्गीय नागरिकहरू विशेष गरी पीडित बन्दै आएको भन्दै न्याय, अधिकार र सम्मान सुनिश्चित गर्न राज्य गम्भीर बन्नुपर्ने माग गरिएको छ।
महाअभियानले विगतमा सरकारसँग पटक–पटक संवाद, वार्ता र सहमति भएको स्मरण गराउँदै विशेषगरी सुशीला कार्की नेतृत्वको सरकारसँग भएको १२ बुँदे सम्झौताले पीडित नागरिकको समस्या समाधानको आधार तयार गरेको दाबी गरेको छ।
ज्ञापनपत्रमा वर्तमान सरकारले विगतका प्रतिबद्धताको निरन्तरता दिँदै उक्त सम्झौताको पूर्ण तथा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ। अन्यथा न्याय र अधिकारका लागि देशभर शान्तिपूर्ण विरोध कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।
पीडित नागरिकको आवाजलाई गम्भीरतापूर्वक सम्बोधन गरी यथाशीघ्र न्याय सुनिश्चित गर्न माग गर्दै महाअभियानले १२ बुँदे सम्झौताको प्रतिलिपिसहित ज्ञापनपत्र पेश गरेको जनाएको छ।
ज्ञापनपत्र बुझाउनेमा राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल पर्साका उपाध्यक्ष राजेश चौहान,सचिव अजय पौडेल ,सहसचिव तथा प्रवक्ता पवन प्रसाद साह,सदस्य हरिनारायण चौरसिया लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।




COMMENTS