पोखरिया, पर्सा । पोखरिया बजरंग युवा समाजको आयोजनामा पोखरिया नगरपालिका वडा नं. ४ स्थित श्री नेपाल रेडक्रस प्राथमिक विद्यालय का विद्यार्थीहरूलाई शैक्षिक प्रोत्साहन प्रदान गर्ने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमअन्तर्गत विद्यालयका १२० जना विद्यार्थीहरूलाई कापी, पेन तथा पेन्सिल वितरण गरिएको युवा समाजका अध्यक्ष पवन गुप्ता ले जानकारी दिएका छन्।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा इलाका प्रहरी कार्यालय पोखरिया का प्रहरी निरीक्षक प्रदिप पौडेल को उपस्थिति रहेको थियो। साथै युवा समाजका वरिष्ठ सल्लाहकार अम्रिका साह रौनियार, जितेन्द्र चौहान र सोनालाल चौहान तथा सदस्यहरू मनोज दुबेदी, सरमोध सहनी, सुजन सहनी र रमेश महतोको समेत सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक प्रदिप पौडेलले स–साना बालबालिकाको शिक्षामा युवा समाजले पुर्याएको योगदानको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने बताए।
त्यसैगरी अध्यक्ष पवन गुप्ताले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएकाले विद्यार्थीहरूको आधारभूत शैक्षिक आवश्यकतामा सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
स्थानीय स्तरमा बालबालिकाको शैक्षिक भविष्यप्रति जिम्मेवार बन्दै गरिएको यस कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।




COMMENTS