काठमाडौं, चैत 20
नापी विभाग ले देशभरका नापी कार्यालयहरूमा सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन कडा निर्देशन जारी गरेको छ। विभागले अनधिकृत व्यक्ति तथा बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाउन तथा परिचय खुल्ने कागजात हेरेर मात्र सेवाग्राहीलाई प्रवेश दिन निर्देशन दिएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय को निर्देशनअनुसार नापी कार्यालयभित्र सरकारी अभिलेख तथा कागजातमा अनधिकृत व्यक्तिको पहुँच पूर्णरूपमा निषेध गरिने उल्लेख गरिएको छ। साथै कर्मचारीहरूले अनिवार्य रूपमा परिचयपत्र लगाउनु पर्ने र सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र सेवा दिनुपर्ने व्यवस्था मिलाउन भनिएको छ।
विभागले उक्त निर्णयको कार्यान्वयन अवस्थाको जुनसुकै बेला अनुगमन गरिने जनाउँदै निर्देशन पालना नभए सम्बन्धित कार्यालय प्रमुख जिम्मेवार हुने चेतावनी दिएको छ। साथै कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन र सूचना पाटीमार्फत सेवाग्राहीलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ।




COMMENTS