शैलेश गुप्ता 20 चैत्र पोखरिया
पर्साको पोखरिया स्थित मालपोत कार्यालय शाखामा राजस्व संकलनमा गम्भीर अनियमितता भएको आशंका सार्वजनिक भएको छ। स्रोतका अनुसार कार्यालयमा उठ्नुपर्ने मालपोत राजस्व पूर्ण रूपमा सरकारी खातामा दाखिला नभई केही रकम हिनामिना गरिएको हुन सक्ने संकेत देखिएको छ।
स्थानीय स्रोतले दिएको जानकारी अनुसार सेवाग्राहीबाट नियमित रूपमा राजस्व असुली भइरहेको भए पनि त्यसको पूर्ण विवरण कार्यालयको अभिलेखमा नदेखिएको बताइएको छ। राजस्व उठेको र दाखिला भएको रकमबीच अन्तर देखिनु नै अनियमितताको मुख्य आधार भएको स्रोतको दाबी छ।
यता, मालपोत कार्यालय पोखरियाका प्रमुख रामजी साहले भने कार्यालयबाट तोकिएको अनुसार नै राजस्व उठाइएको दाबी गर्दै आएका छन्। यसअघि पनि कार्यालयले करोडौँ रुपैयाँ राजस्व संकलन गरेको विवरण सार्वजनिक गर्दै सेवा प्रवाह पारदर्शी भएको दाबी गरेको थियो ।
तर पछिल्लो आरोपले कार्यालयको पारदर्शिता माथि प्रश्न उठाएको छ। स्थानीय बासिन्दा तथा सेवाग्राहीहरूका अनुसार यदि राजस्व संकलन र दाखिला प्रक्रियामा फरक देखिएको हो भने त्यसबारे तत्काल छानबिन हुनुपर्ने माग बढ्दै गएको छ।
पोखरिया मालपोत कार्यालय केही समयअघि मात्रै सेवा विस्तारका लागि स्थापना गरिएको हो, जसले ग्रामीण क्षेत्रका नागरिकलाई सहज सेवा दिने उद्देश्य राखेको थियो । तर यस्तो गम्भीर आरोप सार्वजनिक भएपछि सेवा प्रवाहको विश्वसनीयतामाथि नै प्रश्न उठ्न थालेको छ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याउनुपर्ने स्थानीयको जोडदार माग रहेको ।




COMMENTS