शैलेश गुप्ता 29 चैत्र पोखरिया
पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने जगन्नाथपुर निवासी तथा समाजसेवी परशुराम साह कानुले काठमाडौंमा उपचाररत बिरामी आमाहरूको अवस्थाबारे जानकारी लिँदै सम्बन्धित व्यक्तिहरूसँग भेटघाट गरेका छन्। उनले मानवता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै बिरामीहरूको स्वास्थ्य अवस्थाप्रति चासो व्यक्त गरेका हुन्।
कानु काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज पुगेर धोविनी गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रोशन कुमार पटेलसँग भेटघाट गरेका थिए। सो क्रममा उनले पटेलको आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा संलग्न चिकित्सकहरूसँग पनि समन्वय गरेका थिए। उनले बिरामीको स्वास्थ्यमा छिटो सुधार आउने विश्वास व्यक्त गर्दै परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरेका थिए।
यसैगरी, समाजसेवी कानुले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा उपचाररत पर्सा जिल्लाको पोखरिया निवासी सञ्चारकर्मी शैलेश गुप्ताको आमाको अवस्थाबारे पनि जानकारी लिएका थिए। उनले सञ्चारकर्मी शैलेशसँग भेट गर्दै आमाको स्वास्थ्यप्रति चासो व्यक्त गर्नुका साथै आवश्यक सहयोगका लागि आफू सदैव तयार रहेको बताएका थिए।
भेटघाटका क्रममा परशुराम साह कानुले दुवै बिरामी आमाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको योगदानको उच्च प्रशंसा गरेका थिए। उनले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु नै समाजको वास्तविक शक्ति भएको उल्लेख गर्दै यस्ता मानवीय कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
स्थानीय स्तरमा सक्रिय समाजसेवीको रूपमा परिचित कानुले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। उनको यस पहलले समाजमा आपसी सहयोग, सद्भाव र सहकार्यको भावना अझ सुदृढ बनाउने विश्वास गरिएको छ।




COMMENTS