शैलेश गुप्ता २ असार, वीरगञ्ज
भरतपुर, चितवन । अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को पूर्वसन्ध्यामा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले मंगलबार चितवनको भरतपुरस्थित नारायणी नदीको तटमा विशेष योग कार्यक्रम सम्पन्न गरेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण नारायणी नदी किनारमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमकी प्रमुख अतिथि सहकारी तथा गरिबी निवारण मन्त्री बिनु राई माझी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मीना ले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्य दूत देवी सहाय मीनाले योगको शारीरिक, मानसिक तथा आध्यात्मिक महत्वबारे प्रकाश पार्नुभयो। उहाँले योग भारतको प्राचीन सांस्कृतिक सम्पदा भए पनि आज विश्वभर स्वास्थ्य, शान्ति र समग्र कल्याणको माध्यमका रूपमा स्थापित भइसकेको बताउनुभयो। योगले व्यक्ति र समाजलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने तथा नेपाल–भारतबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान पुर्याउने उहाँको भनाइ थियो।
प्रमुख अतिथि मन्त्री बिनु राई माझीले योगलाई स्वस्थ जीवनशैलीको आधारका रूपमा व्याख्या गर्दै आधुनिक जीवनशैलीका कारण बढ्दो तनाव, मानसिक दबाब तथा स्वास्थ्य समस्याहरू न्यूनीकरण गर्न योग प्रभावकारी माध्यम रहेको बताउनुभयो। उहाँले नियमित योग अभ्यासले सकारात्मक सोच, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रशिक्षित योग प्रशिक्षकहरूले सामान्य योग प्रोटोकलअन्तर्गत विभिन्न आसन, प्राणायाम तथा ध्यान अभ्यासको प्रदर्शन गराएका थिए। सहभागीहरूले प्रशिक्षकहरूको निर्देशनमा सामूहिक रूपमा योग अभ्यास गरेका थिए। नारायणी नदीको शान्त वातावरण र प्राकृतिक सौन्दर्यबीच सम्पन्न योग कार्यक्रममा सहभागीहरूले शारीरिक तन्दुरुस्तीका साथै मानसिक शान्तिको अनुभूति गरेको बताएका थिए।
भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले अन्तर्राष्ट्रिय योग दिवसलाई लक्षित गर्दै विभिन्न स्थानमा जनचेतनामूलक योग कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ। आयोजकका अनुसार यस्ता कार्यक्रमले योगप्रतिको जनचासो बढाउनुका साथै स्वस्थ, सकारात्मक र तनावमुक्त समाज निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ।




COMMENTS