शैलेश गुप्ता ५ जेठ, काठमाडौं ।
पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर साक्य ले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेर उपचाररत सञ्चारकर्मी शैलेश गुप्ताकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
काठमाडौंको बासबारीस्थित गंगालाल अस्पतालमा उपचाररत बिरामीसँग भेटघाट गर्दै सांसद साक्यले शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्। अस्पताल पुगेका सांसद साक्यले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा परिवारजनसँग कुराकानी गर्दै उपचार प्रक्रियाबारे जानकारी लिएका थिए।
भेटका क्रममा उनले बिरामीको अवस्था बुझ्दै आवश्यक परे आफूबाट हुने सहयोगका लागि सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका थिए। सांसद साक्यले स्वास्थ्य उपचारका क्रममा बिरामीको मनोबल बलियो हुनु अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै परिवारजनलाई धैर्य र आत्मविश्वासका साथ उपचारमा ध्यान दिन आग्रह गरेका थिए।
सञ्चारकर्मी शैलेश गुप्ताले आफ्नी आमाको स्वास्थ्य अवस्था, चिकित्सकले गरिरहेको निगरानी तथा उपचार प्रक्रियाबारे सांसद साक्यलाई जानकारी गराएका थिए। उनले कठिन परिस्थितिमा समेत समय निकालेर अस्पताल पुगेर चासो व्यक्त गरेकोमा सांसद साक्यप्रति आभार व्यक्त गरेका थिए।
सांसद साक्यले बिरामी तथा परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी र सहज बनाउन राज्यले थप संवेदनशील भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनले बिरामीको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने धारणा समेत राखेका थिए।
भेटघाटका क्रममा अस्पताल परिसरमा आत्मीय तथा भावनात्मक वातावरण देखिएको थियो। परिवारजनले जनप्रतिनिधिको उपस्थितिले बिरामीको मनोबल बढेको प्रतिक्रिया दिएका थिए।






COMMENTS