शैलेश गुप्ता २५ जेठ, पोखरिया
पर्साको पोखरिया नगरपालिका–४ सतवरियास्थित श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालय सतवरियामा अध्ययनरत २१० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। पोखरिया बजरंग युवा समाजको आयोजनामा सोमबार आयोजित एक विशेष कार्यक्रममा बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत छात्र–छात्रालाई कापी, कलम, पेन्सिल, कटर तथा मेट्ने सामग्री वितरण गरिएको हो।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक स्तर अभिवृद्धि तथा अध्ययनप्रति थप उत्साह जगाउने उद्देश्यले सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। वितरण गरिएका सामग्री युवा नेता तथा समाजसेवी पवन गुप्ताको आर्थिक सहयोगमा उपलब्ध गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले बालबालिकाको शिक्षामा लगानी गर्नु नै समाजको उज्ज्वल भविष्य निर्माण गर्नु भएको बताउँदै यस्ता सामाजिक तथा शैक्षिक गतिविधिले विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्ने विश्वास व्यक्त गरे। उनले शिक्षालाई समाज परिवर्तनको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै विभिन्न संघसंस्था तथा समाजसेवीहरूलाई यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।
वडा अध्यक्ष लक्ष्मण साह कनुले स्थानीय तहले पनि शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थीहरूको शैक्षिक विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै सामाजिक संस्थाहरूको सहकार्यले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताए। उनले पोखरिया बजरंग युवा समाजले गरेको कार्य प्रशंसनीय रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद रौनियारले विद्यालयमा अध्ययनरत विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई यस्ता सामग्रीले ठूलो सहयोग पुग्ने बताए। उनले विद्यालयप्रति देखाएको सहयोग र चासोका लागि सहयोगदाता तथा आयोजक संस्थाप्रति आभार व्यक्त गरे।
कार्यक्रममा पोखरिया बजरंग युवा समाजका कोषाध्यक्ष रमेश महतो, मनिष रौनियार, सुजन सहनीलगायत समाजका पदाधिकारी, अभिभावक, शिक्षक तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
सामग्री वितरणपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए। आवश्यक शैक्षिक सामग्री प्राप्त भएपछि नियमित अध्ययनमा थप सहजता हुने उनीहरूले बताएका छन्।
पोखरिया बजरंग युवा समाजले बालबालिकाको शैक्षिक विकास, सामाजिक उत्तरदायित्व तथा समुदायको समग्र विकासका लागि आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। संस्थाले शिक्षा, स्वास्थ्य र सामाजिक चेतनामूलक क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।




COMMENTS