शैलेश गुप्ता १२ जेठ, पोखरिया
इलाका प्रशासन कार्यालय सुपौलीमा सेवा लिन आउने सेवाग्राहीले लामो समयदेखि विभिन्न प्रकारका सास्ती, ढिलासुस्ती तथा कर्मचारीको गैरजिम्मेवार व्यवहार भोग्नुपरेको गुनासो बढेपछि पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर साक्य ले सोमबार उक्त कार्यालयमा पुगेर अनुगमन गरेका छन्।
स्थानीय सेवाग्राहीले नागरिकता, सिफारिस, राहदानी सम्बन्धी कागजात तथा अन्य प्रशासनिक सेवा लिन कार्यालय पुग्दा अनावश्यक झन्झट, ढिलो सेवा प्रवाह तथा पटक–पटक धाउनुपर्ने अवस्था रहेको गुनासो गरेपछि सांसद साक्यले प्रत्यक्ष रूपमा कार्यालयको अवस्था बुझ्न अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा सांसद साक्यले कार्यालयमा कार्यरत प्रशासकीय अधिकृत विनय कुमार गुप्तासहित कर्मचारीहरूसँग सेवा प्रवाहको अवस्था, सेवाग्राहीले भोगिरहेका समस्या, दैनिक कामकाजको प्रक्रिया तथा कर्मचारी व्यवस्थापनबारे जानकारी लिएका थिए। उनले सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउन निर्देशनसमेत दिएका बताइएको छ।
सांसद साक्यले जनताको गुनासोलाई बेवास्ता गर्न नहुने उल्लेख गर्दै सरकारी कार्यालय जनताको सेवाका लागि भएकाले जिम्मेवार र उत्तरदायी भएर काम गर्न कर्मचारीलाई आग्रह गरेका थिए। उनले सेवाग्राहीलाई अनावश्यक दुःख दिने कार्य तत्काल सुधार गर्नुपर्नेमा जोड दिएका थिए।
अनुगमनका क्रममा कार्यालय पुगेका केही सेवाग्राहीले आफूहरूले लामो समयदेखि भोग्दै आएको समस्याबारे प्रत्यक्ष रूपमा सांसदसमक्ष कुरा राख्न पाएको बताएका छन्। उनीहरूले जनप्रतिनिधि स्वयं कार्यालयमा पुगेर अनुगमन गरेपछि आफ्ना समस्याप्रति सम्बन्धित निकाय गम्भीर बन्ने अपेक्षा व्यक्त गरेका छन्।
सांसद साक्यको अनुगमनपछि सेवाग्राहीमा सकारात्मक सन्देश गएको स्थानीयवासीले बताएका छन्। उनीहरूले इलाका प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा अझ प्रभावकारी, व्यवस्थित र जनमैत्री बन्नुपर्ने मागसमेत गरेका छन्।






COMMENTS