शैलेश गुप्ता ११ जेठ, पोखरिया
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीय नागरिकले दैनिक उपभोग्य सामग्री ओसारपसारमा पछिल्लो समय विभिन्न अवरोध र असहजता भोग्नुपरेको गुनासो बढेपछि प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य सक्रिय भएका छन् ।
सीमावर्ती जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएको समस्यालाई मध्यनजर गर्दै सांसद शाक्यको पहलमा बाघमुर्चा पोस्टमा समन्वय बैठक सम्पन्न गरिएको हो । बैठकमा जिल्ला सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी मोहन क्षेत्री को रोहवरमा क्षेत्र नम्बर ४ अन्तर्गत रहेका सम्पूर्ण बीओपी प्रमुखहरूको उपस्थिति रहेको थियो ।
बैठकमा सांसद शाक्यले सीमाक्षेत्रमा बसोवास गर्ने नागरिकको दैनिक जीवनयापन भारतीय बजारसँग नजिकबाट जोडिएको उल्लेख गर्दै खाद्यान्न, तरकारी, औषधिलगायत अत्यावश्यक उपभोग्य सामग्री ल्याउने क्रममा अनावश्यक कठिनाइ सिर्जना हुँदा जनजीवन प्रभावित भएको बताए । उनले सीमामा बस्ने नागरिकका समस्यालाई राज्यका निकायले संवेदनशील रूपमा बुझ्नुपर्ने आवश्यकता औँल्याउँदै जनतालाई सहज हुने गरी आवश्यक सहजीकरण गर्न सुरक्षा निकायलाई सुझाव दिएका थिए ।
सांसद शाक्यले सीमावर्ती क्षेत्रका नागरिकले वर्षौंदेखि दैनन्दिन आवश्यकताका लागि भारतीय बजारमा निर्भर रहँदै आएको उल्लेख गर्दै कानुनी व्यवस्थाको पालना गर्दै जनतालाई अनावश्यक दुःख नहुने वातावरण निर्माण गर्न आग्रह गरे । उनले सीमाक्षेत्रका बासिन्दाको दैनिकी सहज बनाउनु राज्यको दायित्व भएको पनि बताए ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी प्रमुख एसपी मोहन क्षेत्रीले सीमावर्ती जनताको समस्याप्रति आफू गम्भीर रहेको स्पष्ट पारे । उनले जनताको सहज जीवनयापनका लागि सशस्त्र प्रहरी बल सधैँ सकारात्मक रहेको धारणा व्यक्त गर्दै कानुनी व्यवस्था र जनताको आवश्यकतालाई सन्तुलनमा राखेर काम गरिने प्रतिबद्धता जनाए ।
सीमावर्ती क्षेत्रबाट पछिल्ला दिनमा लगातार गुनासो आउन थालेपछि सांसद शाक्यले सुरक्षा निकायसँग प्रत्यक्ष समन्वय गरी बैठक आयोजना गरेका हुन् । स्थानीयवासीले पनि यस पहलबाट सीमाक्षेत्रमा देखिएको समस्या समाधानतर्फ सकारात्मक वातावरण बन्ने अपेक्षा व्यक्त गरेका छन् ।
पर्सा क्षेत्र नम्बर ४ अन्तर्गतका अधिकांश सीमावर्ती बासिन्दा दैनिक रूपमा भारतीय बजारसँग जोडिएर उपभोग्य सामग्री खरिद गर्ने भएकाले पछिल्ला दिनमा देखिएको कडाइले उनीहरूको दैनिकीमा प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ । विशेषगरी खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य दैनिक आवश्यक सामग्री ल्याउन कठिनाइ भएपछि स्थानीयस्तरमा असन्तुष्टि बढ्दै गएको थियो ।
यस्तो अवस्थामा सांसद टेकबहादुर शाक्यको पहलमा भएको समन्वय बैठकलाई सीमावर्ती जनताले सकारात्मक कदमका रूपमा लिएका छन् । स्थानीयले सुरक्षा निकाय र जनप्रतिनिधिबीचको समन्वयबाट अब समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरेका छन् ।






COMMENTS