पर्सा — छिपहरमाई गाउँपालिका वडा नं. ३, झलमैया स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक संरचना अत्यन्त कमजोर रहेको भन्दै स्थानीय युवाहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
स्थानीयका अनुसार विद्यालयअन्तर्गत रहेको शौचालय अत्यन्तै फोहोर अवस्थामा छ भने एउटा पनि शौचालय सफा नभएको गुनासो गरिएको छ। सरसफाइको अभावले विद्यार्थीहरूलाई ठूलो समस्या भइरहेको बताइएको छ।
त्यसैगरी हालसालै निर्माण गरिएको नयाँ विद्यालय भवनसमेत गुणस्तरहीन देखिएको छ। भवनको छतबाट पानी चुहिन थालेको र ढलान गरिएको भाग नै स्पष्ट देखिने गरी काम अधुरो र कमजोर रहेको स्थानीयले बताएका छन्। अधुरो निर्माण तथा गुणस्तरहीन कामको अनुगमन र छानबिन गर्न युवाहरूले माग गरेका छन्।
विद्यालयमा पठनपाठनका लागि आवश्यक आधारभूत सामग्रीको समेत अभाव रहेको छ। कक्षाकोठामा ब्ल्याकबोर्डको अवस्था कमजोर छ भने टेबल, कुर्सी र डेस्कको कमी रहेको बताइएको छ। साथै बालमैत्री धारा तथा स्वच्छ खानेपानीको व्यवस्था पनि नभएको गुनासो गरिएको छ।
स्थानीयवासीहरूका अनुसार गाउँपालिकाको शिक्षा शाखा तथा सम्बन्धित सरोकारवाला निकायले यस विषयमा आवश्यक ध्यान नदिएको आरोप लगाइएको छ। यही विषयलाई लिएर आज सोही गाउँका युवाहरूले विद्यालयको वास्तविक अवस्था सार्वजनिक गर्दै सरकारसमक्ष सुधारको माग राखेका छन्।
उनीहरूले विद्यालयको भौतिक पूर्वाधार सुधार, गुणस्तरीय निर्माण कार्य सुनिश्चित तथा बालबालिकालाई सुरक्षित र सहज वातावरणमा शिक्षा प्राप्त गर्ने व्यवस्था गर्न तत्काल पहल गर्न आग्रह गरेका छन्




COMMENTS