पर्सा — फागुण २१ गते सम्पन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस पर्साले आजदेखि ‘जरा अभियान’ कार्यक्रमको शुभारम्भ गरेको छ। निर्वाचनमा पर्सा जिल्लाका चारवटै संसदीय क्षेत्र गुमाएपछि संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित यो अभियान सुरु गरिएको हो।
नेपाली कांग्रेस पर्साका अनुसार आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै हरेक गाउँपालिका, नगरपालिका र महानगरपालिकाका वडास्तरमा अभियान सञ्चालन गरिनेछ। अभियानमार्फत पार्टी संगठनलाई तल्लो तहदेखि मजबुत बनाउँदै विगतका कमजोरीहरूको समीक्षा गरी सुधार गर्ने लक्ष्य राखिएको छ।
नेपाली कांग्रेस पर्साका सचिव तथा वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले जानकारी दिँदै आगामी दिनमा संगठन विस्तार र जनसम्पर्कलाई अझ प्रभावकारी बनाइने बताए। उनका अनुसार विगतका चुनावमा भएका कमजोरीलाई जरा तहबाटै सच्याउँदै अघि बढ्ने योजना रहेको छ।
कार्यक्रममा सहभागी नेताहरूले विगतमा कहाँ चुक भएको र कुन क्षेत्रमा कमजोरी भएको भन्ने विषयको आत्मसमीक्षा गर्दै आगामी दिनमा थप सशक्त भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
उक्त कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा पूर्व मन्त्री जनार्दन सिंह क्षेत्री, पूर्व मन्त्री रमेश रिजाल, पूर्व मन्त्री सुरेन्द्र चौधरी, पूर्व मन्त्री अजय चौरसिया, सचिव तथा वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम लगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
नेताहरूले संगठनलाई पुनः सशक्त बनाउँदै आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउने लक्ष्यसहित अभियानलाई सफल बनाउन सबै कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेका छन्।




COMMENTS