पर्सा, — पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य टेकबहादुर शाक्यले भारतबाट आयात हुने दैनिक उपभोग्य सामग्रीमा लाग्दै आएको भन्सार सम्बन्धी समस्यालाई लिएर उच्चस्तरीय पहल थालेका छन्। यसैक्रममा उनले आज राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तथा गृहमन्त्री सुदन गुरुङसँग भेटघाट गरी क्षेत्रको समस्याबारे विस्तृत जानकारी गराएका हुन्।
भेटघाटका क्रममा विशेषगरी छिमेकी मुलुक भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका सरसामान ल्याउँदा लाग्ने भन्सार शुल्कका कारण सर्वसाधारणमा परेको असरबारे गम्भीर छलफल भएको सांसद शाक्यले बताएका छन्। सीमावर्ती क्षेत्रका बासिन्दाले दैनिक उपभोगका सामग्री ल्याउँदा अनावश्यक झन्झट र अतिरिक्त आर्थिक भार व्यहोर्नुपरेको विषय उनले उठाएका थिए।
छलफलमा पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुशील साह कानु पनि सहभागी रहेका थिए। सहभागी नेताहरूले सीमा क्षेत्रमा देखिएका यस्ता व्यावहारिक समस्यालाई समाधान गर्न नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिएका थिए।
सांसद शाक्यका अनुसार छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको छ र सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै व्यावहारिक समाधान निकाल्ने पहल भइरहेको छ। उनले सरकारले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको विषयलाई प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे।
साथै, उनले आफ्ना क्षेत्रबासीलाई संयम र धैर्य धारण गर्न आग्रह गर्दै समस्या चाँडै समाधान हुनेमा आशावादी रहन आग्रह गरेका छन्। सीमावर्ती नागरिकको सहज जीवनयापन सुनिश्चित गर्न आफू निरन्तर पहलमा रहने पनि उनले स्पष्ट पारे।




COMMENTS