वीरगंज, २६ फागुन
जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीको पैत्रिक गाउँमै पार्टीको चुनाव चिह्न ‘छाता’ले अत्यन्त न्यून मत प्राप्त गरेको तथ्य सार्वजनिक भएको छ। गद्दीको आफ्नै पालिका जगरनाथपुर गाउँपालिका–४, जगरनाथपुरस्थित मतदान केन्द्रमा छाताको पक्षमा जम्मा १३ मत मात्र खसेको छ। यो नतिजापछि पर्सा जिल्लामा गद्दीको जनाधार कमजोर भएको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ।
त्यस्तै, गद्दी बसोबास गर्दै आएको वीरगंज महानगरपालिका–१३ मा पनि छाताले जम्मा ३९ मत मात्र प्राप्त गरेको छ। कमजोर मत परिणामका कारण पर्साका विभिन्न क्षेत्रमा जसपा नेपालका उम्मेदवारहरूको जमानत जफत भएको बताइएको छ। पर्सा जिल्लालाई पहिले मधेशी मोर्चा तथा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको बलियो आधार क्षेत्र मानिन्थ्यो। तर पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्वप्रति असन्तुष्टिका कारण प्रभावशाली नेताहरू अन्य दलमा प्रवेश गरेपछि जिल्लामा जसपा कमजोर बन्दै गएको छ । २०८२ फागुन २१ गते सम्पन्न भएको निर्वाचनको देशैभरीको मत परिमाण आईसकेको छ । पर्साको ४ वटै निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवारको जमानत जफत भएको छ ।
यस नतिजापछि पार्टीभित्रैका केही युवा नेताहरूले जिल्लामा देखिएको कमजोर अवस्थाको मुख्य जिम्मेवारी गद्दी र अध्यक्ष उपेन्द्र यादवमाथि पर्ने आरोप लगाएका छन्। उनीहरूका अनुसार जनाधार भएका नेताहरूलाई पार्टीभित्र टिक्न नदिने वातावरण बनाइएको र केन्द्रीय नेतृत्वलाई समेत वास्तविक अवस्थाबारे गलत जानकारी दिइएको छ।
निर्वाचनमा अधिकांश क्षेत्रमा उम्मेदवारहरूको जमानत जफत भएपछि पार्टीभित्र नेतृत्वको नैतिक जिम्मेवारी र राजीनामाको माग समेत उठ्न थालेको स्रोतको दाबी छ।
यस पटकको निर्वाचनमा देखिएको नयाँ राजनीतिक समीकरण तथा विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभावका कारण पर्सामा छाताको प्रभाव घटेको भन्दा पार्टी दुई नेता गद्दी र पार्टी अध्यक्षको कारण पार्टी नै सकिएको एक नेताले बताए । एक नेताले पर्सामा जसपा नेपालको पुनर्गठन आवश्यक भएको बताए ।




COMMENTS