वीरगञ्ज, २० फागुन ।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले वीरगञ्जमा सञ्चालन गरेको विशेष सर्च अभियानका क्रममा तीन जना पक्राउ परेका छन् । आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले गरिएको उक्त अभियानलाई सुरक्षा निकायले ठूलो सफलताका रूपमा लिएको छ ।
गएराति करिब २ बजेतिर श्रीजंग गण वीरगञ्जको नेतृत्वमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ ईनर्वा क्षेत्रमा सञ्चालन गरिएको विशेष सर्च अपरेशनका क्रममा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज १६ निवासी कृष्ण यादव, सोही ठाउँकै रोहित पटेल र अवजित यादव रहेका छन् । उनीहरूको साथबाट ९ पिस सुतली बम, २ थान मोबाइल, १ थान पावर बैंक, १ थान चार्जर, सेतो रंगको तार ५ वटा तथा सुंगुरको टाउको बरामद गरिएको श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाले जानकारी दिए ।
निर्वाचनको समयमा कुनै पनि प्रकारको साम्प्रदायिक वा अराजक गतिविधि हुन नदिन सेना पूर्ण रूपमा सतर्क रहेको उनले बताए । सुरक्षा निकायका अनुसार बरामद गरिएका सामग्रीले धार्मिक सद्भाव खल्बल्याउने तथा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्य देखिएको प्रारम्भिक अनुसन्धानबाट संकेत मिलेको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।






COMMENTS