शैलेश गुप्ता 26 फाल्गुण पोखरिया
नवनिर्वाचित माननीय टेकबहादुर शाक्यज्यूलाई उहाँ अध्ययनरत श्री मावि विजयबस्ती विद्यालयले आज सम्मान गरेको छ। विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थीहरूले फूलको गुच्छा, माला तथा खादा लगाएर विद्यालयको गेटदेखि नै उहाँलाई सम्मान गरेका थिए ।
नवनिर्वाचित माननीय टेकबहादुर शाक्यले श्री मा वि विजयबस्ती विद्यालयमा कक्षा १ देखि अध्ययन गरी वि.सं. २०४८ सालमा एस एल सी उत्तीर्ण गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा सम्बोधन गर्नुहुँदै माननीय शाक्यले आज श्री मा वि विजयबस्ती विद्यालयमा प्रवेश गर्दा आफूलाई बाल्यकालको स्मरण भएको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारका लागि सबै मिलेर लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । आफूले यस विद्यालयमा अध्ययन गर्दा हलो जोत्दै विद्यालय जाने, डेस्क नभएकाले इट्टामाथि बसेर पढ्नुपरेको अनुभव विद्यार्थीहरूलाई सुनाउनुभयो। अहिले विद्यालयमा केही सुधार भए पनि २१औँ शताब्दीको आवश्यकता अनुसार अझै धेरै सुधार आवश्यक रहेको बताउँदै आगामी दिनमा सरकारले शिक्षा नीतिमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक नारायण लामाले आफूले वि.सं. २०४६ सालमा टेकबहादुर शाक्यलाई पढाएको स्मरण गर्दै आज उहाँ देशकै माननीय जस्तो गौरवमय पदमा निर्वाचित भएको खबरले आफू सहित सम्पूर्ण विद्यालय परिवार हर्षित भएको बताउनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण शिक्षक फूर्वा लामाले गर्नुभएको थियो । कार्यक्रममा रास्वपा कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो ।




COMMENTS