दिपेन्द्र चौधरी सहनी
पर्सा, माघ १७ गते ।
पर्साको धोबिनी गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ। ह्युमन लभ च्यारिटी फण्डको आयोजनामा शनिबार उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो। धोबिनी गाउँपालिका–५ स्थित श्री अजिज मियाँ माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा ४०९ भन्दा बढी स्थानीय नागरिकले स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ।
संस्थाका संस्थापक एजाज अन्सारीका अनुसार विपन्न, गरिब, सुकुम्बासी तथा अस्पतालसम्म सहज पहुँच नपुगेका नागरिकलाई लक्षित गरी एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो। ह्युमन लभ च्यारिटी फण्डद्वारा पहिलो पटक आयोजना गरिएको यस शिविरमा सहभागीहरूलाई स्वास्थ्य जाँच, परीक्षण तथा परामर्श सेवाका साथै आवश्यक औषधिहरू समेत निःशुल्क वितरण गरिएको अन्सारीले जानकारी दिनुभयो।
शिविरमा सन्तरा क्लिनिक, वीरगञ्जका डा. संजय अग्रवाल (बालरोग विशेषज्ञ) तथा डा. कीर्ति अग्रवाल (महिला तथा स्त्री रोग विशेषज्ञ) ले सेवा प्रदान गरेका थिए भने नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जका डा. जियाउल हक (मुत्ररोग, पुरुष प्रजनन तथा यौन स्वास्थ्य विशेषज्ञ), डा. राजीव यादव र डा. नुर होदा देवान (मुटु, रक्तचाप, छाती, थाइराइड तथा मधुमेह रोग विशेषज्ञ) सहित डा. म. इमरान, डा. सन्नी फारुक, डा. अभय पटेल र डा. म. इमरान अन्सारीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए।




COMMENTS