अभिलाष गुप्ता २७ पौष वीरगञ्ज
विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर कार्यसमितिले आइतबार नवनियुक्त हिन्दू पत्रकार संघ, नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई भव्य समारोहका बीच नागरिक अभिनन्दन तथा सम्मान गरेको छ।
वीरगञ्जको रानीसती धर्मशालामा आयोजित उक्त कार्यक्रममा हिन्दू धर्म, संस्कृति र राष्ट्रियताको रक्षामा सञ्चार जगत्को भूमिकाबारे गम्भीर छलफल भएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि एवं विश्व हिन्दू परिषद् मधेस प्रदेशका उपाध्यक्ष सुनिल खेतानले नवनियुक्त पत्रकारहरूलाई टीका र गमछा ओढाएर सम्मान गर्दै सामाजिक सञ्जालमा हिन्दू धर्मविरुद्ध हुने अभद्र टिप्पणी र योजनाबद्ध मिडिया ट्रायल विरुद्ध सशक्त रूपमा उत्रन आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, "हिन्दूहरूको आस्थामाथि प्रहार गर्ने तत्वहरू सक्रिय भएका छन्, अब हिन्दू पत्रकार संघले त्यस्ता भ्रमलाई चिरेर सत्यको छाप छोड्नुपर्छ। यस कार्यमा परिषद् सधैँ तपाईंहरूको साथमा रहनेछ।"
हिन्दू पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन रौनियारले प्रमुख अतिथिको आसनबाट बोल्दै संघको स्थापनाको औचित्य स्पष्ट पार्दै भने, "यो संगठन कुनै विशेष जाति वा समुदायको विरोधमा नभई हिन्दू धर्मको व्यापक प्रचार-प्रसार र ओझेलमा परेका धार्मिक एवं पर्यटकीय स्थलहरूको उत्थानका लागि बनेको हो।
पत्रकारको पहिलो धर्म न्याय हो। जुनसुकै जात वा धर्मको भए पनि यदि कोही पीडित छ भने हाम्रो संघ उसको आवाज बन्नेछ। हामी मठ-मन्दिर र संस्कृतिको संरक्षणसँगै सत्यको पक्षमा सधैं अडिग रहनेछौँ।"
नगर अध्यक्ष ज्योति रुंगटाको अध्यक्षतामा भएको कार्यक्रममा दीप प्रज्वलन गरी सनातन पद्धतिको सम्मान गरिएको थियो।
कार्यक्रममा वीरगञ्जका प्रतिष्ठित उद्योगी, नागरिक समाजका प्रतिनिधि, महिला सञ्चारकर्मी र युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले हिन्दू पत्रकार संघको उदयले मधेस प्रदेश र देशभर धार्मिक पत्रकारितामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे।





COMMENTS