अभिलाष गुप्ता १० माघ वीरगञ्ज,
ग्रीनसिटि सामुदायिक प्रहरी, सशस्त्र प्रहरी बल, वीरगञ्ज महानगरपालिकाको नगर प्रहरी, राष्ट्रिय सेवा दल तथा नेपाल प्रहरीको संयुक्त आयोजनामा वीरगञ्जमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ। वर्षौँदेखि बेवारिसे अवस्थामा रहँदै आएको घण्टाघरस्थित रेल्वे जग्गा फोहोरले अस्तव्यस्त बनेको अवस्थामा उक्त सरसफाई अभियान सञ्चालन गरिएको हो।
वीरगञ्जस्थित बीपी उत्थान अगाडि रहेको रेल्वे जग्गामा गरिएको सरसफाई आगामी दिनमा जनकपुरबाट ऐतिहासिक महत्व बोकेको पुरानो रेल ल्याई रेल्वे संग्रहालय स्थापना गर्ने तयारीका रूपमा गरिएको जनाइएको छ।
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहले ऐतिहासिक रेल सम्पदाको संरक्षण तथा पर्यटकीय विकासलाई लक्षित गर्दै यो अभियान अघि बढाइएको बताउनुभयो। उहाँका अनुसार रेल्वे संग्रहालय स्थापना भएपछि वीरगञ्जको ऐतिहासिक पहिचान अझ सुदृढ हुने, पर्यटन प्रवर्द्धन हुने र नयाँ पुस्ताले नेपालको रेल्वे इतिहासबारे जानकारी पाउने अवसर प्राप्त गर्नेछ।
आज सम्पन्न बृहत सरसफाई कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा एवं महानगरपालिकाका हरियाली संयोजक एवं ग्रीनसिटि सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिपराज पाठक, सशस्त्र प्रहरी बलका डीएसपी पुरुषोत्तम भण्डारी, जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्की र हरि बस्नेत, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटुवाल लगायतको उपस्थिति रहेको थियो।त्यसैगरी समाजसेवी, सरसफाई अभियन्ता शिव गुप्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत अर्बिन्दलाल कर्णले जनकपुरबाट ऐतिहासिक महत्व बोकेको रेल शीघ्र रूपमा वीरगञ्ज ल्याई रेल्वे संग्रहालय निर्माण गरिने जानकारी दिनुभयो। उहाँले यो योजना महानगरपालिकाको दीर्घकालीन सांस्कृतिक तथा पर्यटकीय विकास योजनासँग मेल खाने बताउनुभयो।रेल्वे संग्रहालय स्थापना भएपछि वीरगञ्जको ऐतिहासिक र सांस्कृतिक महत्व थप उजागर हुने विश्वास व्यक्त गरिएको छ।




COMMENTS