जोखिम, दमन र दबाबबीच पनि पत्रकारिताको मोर्चामा उभिएका नेपाली पत्रकारहरू सम्मानित
श्यामल कुमार गिरी
२१ पुस बारा । दक्षिण एशियामा पत्रकारिता आज अभूतपूर्व दबाब, जोखिम र दमनको सामना गरिरहेको बेला नेपालका बारा, पर्सा र रौतहटका ९ जना पत्रकार भारतको नालंदामा अन्तर्राष्ट्रिय स्तरको सम्मानबाट विभूषित हुनु सामान्य औपचारिकता मात्र होइन, दमनविरुद्धको पत्रकारिता र सत्यको पक्षमा उभिने साहसको अन्तर्राष्ट्रिय मान्यताका रूपमा हेरिएको छ।
भारतको बिहारस्थित नालंदा खुला विश्वविद्यालयमा सम्पन्न दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरूलाई ‘अन्तर्राष्ट्रिय मातृभाषा तथा अन्तर्राष्ट्रिय पुरस्कार–२०२६’ प्रदान गरिएको हो। यो सम्मान सार्क जर्नलिस्ट फोरम (SAARC Journalist Forum) भारत च्याप्टरद्वारा प्रदान गरिएको हो। जोखिमपूर्ण वातावरणमा पत्रकारिता : सम्मान किन महत्वपूर्ण छ ?।
नेपालसहित दक्षिण एशियाली मुलुकहरूमा पत्रकारहरूले राजनीतिक हस्तक्षेप,राज्य तथा गैर,राज्य पक्षबाट धम्की,आर्थिक असुरक्षा,अभिव्यक्ति स्वतन्त्रतामाथि बढ्दो नियन्त्रण जस्ता चुनौती सामना गर्दै आएका छन्। यही सन्दर्भमा “दक्षिण एशियाली देशहरूमा पत्रकारिता र मानव अधिकारका चुनौती तथा पीडादायी अवस्थामा पत्रकारहरूको भूमिका” विषयक सम्मेलन आयोजना गरिएको आयोजकको भनाइ छ। सम्मेलनले जोखिम मोलेर सत्य उजागर गर्ने पत्रकारहरूको भूमिकालाई अन्तर्राष्ट्रिय तहमा पुन-स्थापित गर्ने प्रयास गरेको विश्लेषकहरूको मत छ।
स्थानीय आवाज, अन्तर्राष्ट्रिय मञ्च सम्मानित पत्रकारहरू मध्ये पर्सा जिल्लाका बरिष्ट पत्रकार, वीरगञ्ज
टेलिभिजन (B-TV) का सञ्चालक महमद सदाब,
आम नेपाली टेलिभिजनका सम्बदाता तथा कालोझोला डटकम का रिपोर्टर दिपेन्द्र प्रजापति, सैलेश गुप्ता, राजन कुमार सिंह, अभिलाश गुप्ता, छेदी राम उर्फ सुबाष राम, चन्दन कुमार महतो, राजनारयण पटेल,कटवासीमाई मिडिया प्रा.लि.द्वारा सञ्चालित जनचेतना खबर डटकम का सञ्चालक तथा जनचेतना खबर साप्ताहिकका प्रकाशक श्यामल कुमार गिरी रहेका छन्।
(अन्य सम्मानित पत्रकारहरू पर्सा, बारा र रौतहट जिल्लाका रहेका छन्।) स्थानीय तहमा "सत्ता दुरुपयोग,सामाजिक अन्याय,सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि बारे निरन्तर रिपोर्टिङ गर्दै आएका छन्। उनीहरूको कामले स्थानीय मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसमा ल्याउन योगदान दिएको बताइन्छ।
विशेषतः सीमावर्ती जिल्ला भएकाले बारा, पर्सा र रौतहटमा सुरक्षा, तस्करी, मानव अधिकार उल्लङ्घन र प्रशासनिक मनपरीजस्ता विषयमा कलम चलाउनु जोखिमपूर्ण मानिन्छ। यस्तो अवस्थामा पत्रकारहरूलाई अन्तर्राष्ट्रिय मञ्चबाट सम्मानित हुनु स्थानीय पत्रकारहरूको मनोबल बढाउने सन्देशका रूपमा लिइएको छ।
सम्मेलन " भाषणभन्दा बहस केन्द्रमा
सार्क जर्नलिस्ट फोरम इन्डिया बिहार च्याप्टरका अध्यक्ष डा. शशीभूषण कुमारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा नेपाल, भारत, बंगलादेश, श्रीलंका र मोरिससका ८५ जना पत्रकार तथा २०४ जना अनुसन्धानकर्ता, शान्ति अभियन्ता र पत्रकारिता विद्यार्थी सहभागी थिए।
सम्मेलनमा १३ जना अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पत्रकारहरूले कार्यपत्र प्रस्तुत गर्दै पत्रकारमाथि बढ्दो दमन, प्रेस स्वतन्त्रताको सङ्कुचन र डिजिटल युगमा पत्रकारिताको जिम्मेवारीबारे गम्भीर बहस गरेका थिए। सहभागीहरूले सम्मानभन्दा पनि सुरक्षाको ग्यारेन्टी र प्रेस स्वतन्त्रताको कानुनी प्रत्याभूति आवश्यक रहेको जोड दिएका छन्।
सम्मान मात्र पर्याप्त छैन।
कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकार सम्मान कार्यक्रम स्वागतयोग्य भए पनि “सम्मानले पेट भरिँदैन, सुरक्षाको ग्यारेन्टी दिँदैन”भन्दै राज्य र अन्तर्राष्ट्रिय समुदायलाई जोखिमपूर्ण रिपोर्टिङ गर्ने पत्रकारहरूको संरक्षणका लागि ठोस नीति बनाउनुपर्ने धारणा राखेका थिए।
नालंदामा भएको यो सम्मान कार्यक्रमले दक्षिण एशियाली पत्रकारिता संकटमा छ भन्ने यथार्थलाई उजागर गर्नुका साथै, सत्यका पक्षमा उभिने पत्रकारहरू अझै पनि हार मानेका छैनन् भन्ने सन्देश दिएको विश्लेषकहरू बताउँछन्।





COMMENTS