अभिलाष गुप्ता
वीरगञ्ज १२ माघ
जनता समाजवादी पार्टी (जसपा) नेपालले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट अशोक कुमार टेमानीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका टेमानी पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।
नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष तथा महासंघको केन्द्रीय कार्यकारी समिति सदस्य रहेका टेमानीले उम्मेदवारीसँगै आर्थिक विकास, रोजगारी सिर्जना र सुशासनयुक्त राज्य संयन्त्र निर्माणलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेका छन्। उनले भावनात्मक नाराभन्दा व्यवहारिक र संरचनागत सुधारमार्फत क्षेत्रको आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखेका छन्।
उद्योग, व्यापार र निजी क्षेत्रसँग लामो समयदेखि जोडिएका टेमानीले साना तथा मध्यम उद्यमको आधुनिकीकरण, व्यापार सहजीकरण, अन्तरदेशीय ट्रान्जिट समस्याको समाधान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार यस्ता सुधारले पर्सा मात्र नभई समग्र मधेश प्रदेशको आर्थिक गतिविधि तीव्र बनाउन सहयोग पुर्याउनेछ।
उद्योग वाणिज्य क्षेत्रमा उनको बलियो अनुभव, व्यापक नेटवर्क र व्यवसायिक सम्बन्धका कारण पर्सा क्षेत्र नम्बर २ का सचेत मतदातामाझ टेमानी वैकल्पिक, सक्षम र विश्वसनीय नेतृत्वका रूपमा स्थापित हुँदै गइरहेका छन्। राजनीतिक रूपमा नयाँ भए पनि स्पष्ट दृष्टिकोण र आर्थिक एजेन्डाका कारण उनको उम्मेदवारीलाई अर्थपूर्ण विकल्पका रूपमा हेरिएको छ।




COMMENTS