अभिलाष गुप्ता ११ माघ वीरगञ्ज
अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद विकासमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियात्मक कार्यक्रम वीरगञ्जस्थित होटल गेट वेमा सम्पन्न भएको छ। उक्त कार्यक्रम नेत्रहिन क्रिकेट संघ नेपाल तथा मधेश प्रदेश नेत्रहिन क्रिकेट संघको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो।
कार्यक्रम नेत्रहिन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो भने वीरगञ्ज महानगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष जगत साह कानु प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको सञ्चालन मधेश प्रदेश नेत्रहिन क्रिकेट संघका अध्यक्ष महेश साह कानुले गर्नुभएको थियो।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद क्षेत्रमा देखिएका चुनौती, अवसर र सरोकारवालाको सहकार्य आवश्यकताबारे गहन छलफल गरिएको थियो। सहभागीहरूले नीति निर्माणदेखि स्थानीय तहको भूमिकासम्म प्रभावकारी पहल आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमका विशिष्ट अतिथिहरूमा नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, समाजसेवी रुप शिला जैसवाल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाईले अपाङ्गता भएका खेलाडीहरूलाई अवसर र पहुँच उपलब्ध गराउनु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले भन्नुभयो अपाङ्गता कमजोरी होइन, क्षमता हो। सही सहयोग, पूर्वाधार र नीति भए अपाङ्गता भएका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उजागर गर्न सक्छन्। यसका लागि सरकार, स्थानीय तह, निजी क्षेत्र र समाज सबैले हातेमालो गर्न आवश्यक छ।कार्यक्रमले अपाङ्गता खेलकुद विकासमा सरोकारवालाबीच सहकार्य र प्रतिबद्धता अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।




COMMENTS