हबिबुलाह समानी,
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर-३ मा प्रतिनिधिसभा सदस्यका लागि आम जनता पार्टी (आजपा) बाट उम्मेदवार बनेका युवा नेता मोहम्मद इस्तखारको चुनावी अभियानले तीव्रता पाएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा उनको घरदैलो अभियानमा देखिएको उल्लेखनीय जनसहभागिता र उत्साहले क्षेत्रको राजनीतिक वातावरण थप सक्रिय बन्दै गएको छ।
इस्तखार हाल दैनिक रूपमा टोल-टोल तथा बस्ती-बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आएका छन्। घरदैलो कार्यक्रमका क्रममा उनले स्थानीय समस्या, विकासका अवरोध तथा सम्भावनाबारे आफ्ना धारणा राख्दै जनताका गुनासा र अपेक्षाहरू ध्यानपूर्वक सुन्दै आएका छन्। जनतासँग प्रत्यक्ष भेटघाट र संवादमार्फत समाधान खोज्ने उनको शैलीले मतदाताको विश्वास बढ्दै गएको स्थानीयको भनाइ छ।
अभियानका क्रममा उनले रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, युवालाई स्वदेशमै अवसर, शिक्षा र स्वास्थ्य सेवाको पहुँच तथा आधारभूत पूर्वाधार विकासलाई आफ्नो प्रमुख एजेण्डा रहेको स्पष्ट पारेका छन्। “जनताको पीडा बुझेपछि मात्र सही नीति बनाउन सकिन्छ,” भन्दै उनले जनमुखी राजनीति आफ्नो मूल लक्ष्य रहेको बताएका छन्।
घरदैलो कार्यक्रममा युवा, महिला तथा ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता देखिएको छ। स्थानीय बासिन्दाहरूले विगतमा भएका अधुरा विकासका काम पूरा गर्न र नयाँ सम्भावनालाई मूर्त रूप दिन इस्तखार सक्षम उम्मेदवार भएको प्रतिक्रिया दिएका छन्।
राजनीतिमा नयाँ ऊर्जा र इमानदार नेतृत्वको आवश्यकता रहेको भन्दै मतदाताहरूले यसपटक परिवर्तनको पक्षमा मत हाल्ने संकेत गरेका छन्। बढ्दो जनसमर्थनसँगै मोहम्मद इस्तखारको चुनावी अभियानले पर्सा–३ मा नयाँ राजनीतिक बहस र उत्साह सिर्जना गरेको देखिन्छ।




COMMENTS