माघ १७ पोखरिया
पर्सा क्षेत्र नम्बर–३ का राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार रामाकान्त चौरसियामाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ। चुनावी प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गरिनुपर्ने माग उठ्न थालेको छ।
आरोप अनुसार चौरसियाले पोखरिया नगरपालिका–७ मा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा भिडभाड देखाउन बालबालिकालाई प्रयोग गरेका हुन्। निर्वाचन आचारसंहिताले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग स्पष्ट रूपमा निषेध गरे पनि उक्त गतिविधि त्यसविपरीत देखिएको स्थानीयको भनाइ छ।
पेशाले निर्माण व्यवसायी रहेका चौरसियामाथि पैसाको बलमा एकाएक रास्वपाबाट टिकट लिएर चुनावी मैदानमा उत्रिएको आरोपसमेत लाग्दै आएको छ। उनको स्थायी घर पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–१९ बर्वामा रहे पनि उनी पर्सा–३ बाट उम्मेदवारी दिएका छन्।
यसअघि नेपाली कांग्रेसमा आबद्ध रहेका रामाकान्त चौरसियाका आफन्तसमेत पर्ने पर्सा–२ का कांग्रेस उम्मेदवार अजय चौरसियालाई असर पार्ने भएपछि उनले आफ्नो गृह क्षेत्र नम्बर–२ छोडेर क्षेत्र नम्बर–३ रोजेको आरोप पनि स्थानीय स्तरमा चर्चामा रहेको छ।




COMMENTS