हैविवुला समानी 27 पुष पोखरिया
पोखरिया । पूर्व मन्त्री तथा प्रभावशाली राजनीतिक नेता प्रभु साह यही पुस २८ गते पार्सा जिल्लाको पोखरिया नगरपालिकामा आउनुहुने भएको छ। जसको कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएका छन्।उहाँको प्रमुख आतिथ्यतामा पोखरियामा भव्य क्षेत्रीय भेला आयोजना हुन लागेको हो। उक्त भेलालाई लिएर स्थानीय राजनीतिक वृत्तमा उल्लेख्य चासो र उत्साह देखिएको छ।
आयोजक समितिका अनुसार क्षेत्रीय भेलामा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता ,कार्यकर्ता, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ। भेलामा समसामयिक राजनीतिक अवस्था, देशको वर्तमान परिस्थिती, संगठन सुदृढीकरण, आगामी निर्वाचनको तयारी, युवा तथा जनसरोकारका मुद्दा लगायतका विषयमा गम्भीर छलफल हुने जनाइएको छ।
पूर्व मन्त्री प्रभु साहले भेलालाई सम्बोधन गर्दै वर्तमान राजनीति, जनताको अपेक्षा, विकास र सुशासन, साथै मधेस तथा सीमावर्ती क्षेत्रका समस्या र सम्भावनाबारे आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ। उहाँको भनाइले कार्यकर्ता तथा समर्थकमा नयाँ ऊर्जा र दिशानिर्देश दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रमलाई सफल बनाउन पोखरिया नगर कमिटी तथा क्षेत्रीय कमिटीले व्यापक तयारी सुरु गरिसकेको छ। स्वागत–सत्कार, व्यवस्थापन, सुरक्षा तथा प्रचार–प्रसारलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ।
स्थानीय नेताहरूका अनुसार यो क्षेत्रीय भेला पोखरिया मात्र नभई आसपासका पालिकाका कार्यकर्तालाई समेत एकताबद्ध गर्ने अवसरका रूपमा लिइएको छ। लामो समयपछि पोखरियामा यति ठूलो राजनीतिक कार्यक्रम हुन लागेकाले यसले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।
आयोजकले पोखरिया तथा छिमेकी क्षेत्रका सबै पार्टी समर्थक, शुभेच्छुक र आम नागरिकलाई समयमै उपस्थित भई क्षेत्रीय भेलालाई सफल बनाउन आग्रह गरेका छन्।





COMMENTS