हरिकिशोर शर्मा / १० जिराभवानी पर्सा
सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरिरहेको पूर्व–पश्चिम राष्ट्रिय एकता तथा सीमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको मार्च पास कार्यक्रम अन्तर्गत आज मधेश प्रदेशको अन्तिम बिन्दु पर्साको ठोरी गाउँपालिका–१ चौताराबाट बाग्मती प्रदेशको प्रारम्भिक बिन्दु हनुमानझुलामा औपचारिक झन्डा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय एकता, सीमा सुरक्षा सचेतना र संगठनात्मक अनुशासनको सन्देश प्रवाह गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त मार्च पास टोलीलाई मधेश प्रदेश कार्यक्षेत्रबाट बाग्मती प्रदेश कार्यक्षेत्रमा प्रवेश गराउँदै झन्डा हस्तान्तरण गरिएको हो। कार्यक्रममा मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी कृष्ण ढकालले बाग्मती प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी अञ्जली कुमार पोखरेललाई औपचारिक रूपमा झन्डा हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा सशस्त्र प्रहरीका उच्च अधिकृत, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले सशस्त्र प्रहरी बल नेपालको यस्तो अभियानले सीमा क्षेत्रका बासिन्दामा सुरक्षा प्रत्याभूति दिलाउनुका साथै राष्ट्रप्रतिको जिम्मेवारी र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरे। उनीहरूले पूर्वदेखि पश्चिमसम्म पैदल यात्रा गर्दै राष्ट्रिय झन्डा बोकेर अघि बढ्ने सशस्त्र प्रहरीको अभियानले संगठनको अनुशासन, समर्पण र राष्ट्रसेवाको भावनालाई प्रतिविम्बित गरेको उल्लेख गरे।
ठोरी–हनुमानझुला क्षेत्र मधेश र बाग्मती प्रदेशको भौगोलिक सिमाना जोड्ने महत्वपूर्ण नाका भएकाले यहाँ गरिएको झन्डा हस्तान्तरण कार्यक्रमलाई प्रतीकात्मक रूपमा विशेष महत्वका साथ हेरिएको छ। कार्यक्रममा स्थानीयवासीले पनि मार्च पास टोलीको स्वागत गर्दै देशको सुरक्षामा खटिने सुरक्षाकर्मीप्रति सम्मान प्रकट गरेका थिए।
सशस्त्र प्रहरी बल नेपालले यस प्रकारको पूर्व–पश्चिम मार्च पास कार्यक्रममार्फत सीमा क्षेत्रको अवस्था अवलोकन, नागरिकसँग प्रत्यक्ष संवाद र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्य राखेको जनाएको छ। टोली निर्धारित तालिका अनुसार आगामी गन्तव्यतर्फ अघि बढेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।




COMMENTS