पर्सा
शहीद दिवसको पावन अवसरमा नेकपा (एमाले) का तर्फबाट पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार रूपेश पाण्डेले विभिन्न स्थानमा रहेका शहीदका सालिकहरूमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। पाण्डेले वीर शहीदहरूको बलिदानले नै आजको परिवर्तन सम्भव भएको बताउँदै उहाँहरूको सपना साकार पार्न आफू निरन्तर लागिपर्ने प्रतिबद्धता जनाउनुभयो।
उम्मेदवार पाण्डेले आज बिहानैदेखि क्षेत्रका विभिन्न स्थानमा पुगेर शहीदहरूप्रति सम्मान प्रकट गर्नुभएको थियो ।उनले पोखरिया नगरपालिकामा शहीद चन्दन पटेल ,पकाहा मैनपुर गाउँपालिकामा शहीद शत्रुधन पटेल र पटेर्वा सुगौली गाउँपालिका: 'शेरे पर्सा' भनेर चिनिने स्व. चन्द्रदेव चौधरीको सालिकमा माल्यार्पण गरेका हुन ।
श्रद्धाञ्जली सभाहरूलाई सम्बोधन गर्दै पाण्डेले क्षेत्रको विकासका लागि नयाँ र ऊर्जावान् नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीमाथि तिखो टिप्पणी गर्दै "लामो समय सत्ता र शक्तिमा रहेर पनि सुरेन्द्र चौधरीले यस क्षेत्रको विकासका लागि सिन्को समेत भाँच्नुभएन। उहाँको कार्यकाल केवल आश्वासन र भ्रष्टाचारको पर्याय बन्यो। जनताले परिवर्तन खोजिरहेका छन् र त्यो परिवर्तन केवल नेकपा एमालेले मात्र दिन सक्छ।"
पाण्डेले अगाडि भन्नुभयो, "शहीदको रगतमा राजनीति गर्नेहरूलाई अब जनताले चिनिसकेका छन्। एकातिर विकास र समृद्धिको एजेण्डा बोकेको एमाले छ भने अर्कोतिर आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त पुराना अनुहारहरू छन्। यसपटक पर्सा ३ का सचेत मतदाताले विकासको पक्षमा मतदान गर्नेछन्।"
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। उम्मेदवार पाण्डेले शहीदका परिवारसँग भेटघाट गरी उहाँहरूको सम्मानमा कुनै कसर बाँकी नराख्ने आश्वासन समेत दिनुभयो।




COMMENTS