हरिकिशोर शर्मा ११ पुस जिराभवानी
संविधानसभा सदस्य तथा नेकपा एमालेका पूर्व पर्सा जिल्ला कमिटी अध्यक्ष जय प्रकाश थारु नेपाली कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन्। लामो समय देखि एमालेमा सक्रिय एमाले मधेस प्रदेश समिति सचिवालय सदस्य थारु सहित ७ दर्जन भन्दा धेरै जीराभवानी गा पा लगायत पर्साका अन्य ठाउँका नेता–कार्यकर्ताहरु शुक्रबार नेपाली कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेको नेकपाका सक्रिय सदस्य घनश्याम रिसालले जानकारी दिए ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा पार्टीका संयोजक प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालले संविधान सभा सदस्य थारु लगायतका नवप्रवेशीहरुलाई टिकामाला लगाई पार्टी प्रवेश गराएको कार्यक्रममा सहभागी नेकपा ठोरीका नेता रिसालले बताए । यस्तै थारुसंगै ठोरी गापाका चर्चित पुराना नेता लेखमान थापा पनि नेकपा प्रवेश गरेका छन्। विवादरहित र सादगी छवी बनाएका सुवर्णपुर निवासी थापा यस अघि एमालेमा सक्रिय थिए ।
भर्खरै सम्पन्न एमालेको महाधिवेशनमा प्रतिनिधी छनौटको विषयलाई लिएर थारुले एमाले पार्टी नेतृत्वप्रति चर्को असन्तुष्टि व्यक्त गरेका थिए । एमाले नेतृत्वको कार्यशैली प्रति असन्तुष्ट हुँदै एमाले छोड्ने निर्णय गरेको थारुको भनाई छ । थारुले नेकपाको तर्फबाट आगामी प्रतिनिधी सभाको चुनाव लड्ने राजनीतिक वृत्तमा चर्चा छ । उनले दोस्रो संविधानसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका रमेश रिजाललाई पराजित गर्दै विजयी भएका थिए । त्यसपछिको २०७४ र २०७९ को दुबै चुनाबमा उनी पर्सा क्षेत्र नम्बर ४ क बाट लगातार दुईपटक प्रदेश सभा सदस्यका लागि चुनाव लडेको भएपनि दुबै पटक काङ्ग्रेसका शङ्कर चौधरीसंग पराजित बन्न पुगेका थिए ।





COMMENTS