वीरगंज, २१ मंसिर ।
पोखरियाका किसानहरूले आइतवार जिल्ला प्रशासन कार्यालय, पर्सालाई ज्ञापनपत्र बुझाउँदै मुआब्जाको माग गरेका छन् ।
पोखरिया १३२ केभी प्रसारण लाइन आयोजनाले साढे दुर्ई वर्षअघि पोखरिया नगरपालिका–१ को जग्गा अधिग्रहण गरेपछि मुआब्जा नदिएको आरोप लगाउँँदै प्रभावित क्षेत्रका किसानहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
किसानहरूका अनुसार आयोजनाले लालपुर्जाको छायाँकपी लिएर जग्गा रोक्का गरे पनि मुआब्जा नपाउँदा उनीहरूको जीवनयापन नै संकटमा परेको छ । यसअघि पनि ६ महिना अघि किसानहरूले नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण शाखा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाए पनि कुनै सुनुवाइ नभएको आरोप छ । पीडितहरूका अनुसार अब पनि मुआब्जा नआए सशक्त सडक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
किसान प्रतिनिधि रमेश ठकुरका अनुसार जग्गा रोक्का हुँदा समुदाय गम्भीर समस्यामा परेको छ ।
किसानहरूले दिएको ज्ञापनपत्रमा जग्गा लिने भए तत्काल लिएर मुआब्जा वितरण गर्न, नत्र फुकुवा गरेर किसानलाई फिर्ता दिन, जग्गा अधिग्रहण गर्ने निर्णय भए २०७८ भदौ १४ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार मुआब्जा दिन, उक्त मितिको मूल्याङ्कनमा नेपाल सरकारको नियमअनुसार हरेक्साल १० प्रतिशतका दरले रकम वृद्धि गरी भुक्तानी गर्न माग गरेका छन् ।
माग पूरा नभएसम्म प्रसारण लाइन निर्माणका कुनै काम अघि बढ्न नदिने उनीहरूले ज्ञापनपत्रमार्फत चेतावनी दिएका छन् ।





COMMENTS