धर्मेंद्र चौरसिया ११ मंसिर पोखरिया
ठोरी गाउँपालिका र जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा ध्याङडाँडामा बुधवार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ। गापा र इलाका प्रशासन कार्यालय, सुपौलीको विरोधमा सहभागीहरूले गुनासो नपोखेपछि कार्यक्रमका प्रमुख अतिथि गापाध्यक्ष लालबहादुर श्रेष्ठ आफैंले गुनासोको ओइरो लगाए।
कार्यक्रममा शिक्षक नारायण लामा, स्थानीय महेन्द्र उपाध्यायलगायतले प्रश्नहरू राखेका थिए।कार्यक्रममा गापाध्यक्ष श्रेष्ठ आफ्नो ठोरीको विकासमा अझै धेरै काम गर्ने इच्छा रहेको तर केहीले षड्यन्त्र रचेका कारण काममा ढिलासुस्ती उत्पन्न भएको बताए।
उनले आफ्नो कार्यकालमा काम हुनै नदिन एक प्रकारको समूह सक्रिय भएको बताए। स्थानीयहरू ठोरीको विकास चाहन्छन् तर षड्यन्त्रकारीहरूले लालबहादुरको पालामा किन भनेर अत्तो थाप्ने गरेको उनले दुःखेसो पोखे।
उनले ठोरी गापा निकुञ्जको बीचमा रहेकोले विकास कार्यमा बाधा उत्पन्न हुने गरेको बताए। गापाले विकास कार्य गर्दा निकुञ्जको आदेश नलिएर गरिएको कामहरूमा रोकावट उत्पन्न हुने गरेको बताए। उनले सार्वजनिक सुनवाइमा धेरै कुरा आउने आफूले अपेक्षा गरेको तर सोअनुरूपका कुराहरू नआएको बताए।
उनले इप्रका, सुपौलीमा चरम भ्रष्टाचार रहेको आरोप लगाए। उनले नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि इप्रकामा बिचौलियाले काम गर्दै आएको गुनासो पोखे।
गापाध्यक्ष श्रेष्ठले नागरिकताका लागि १० हजारसम्म र राष्ट्रिय परिचयपत्रका लागि एक हजार पाँच सय रुपैयाँसम्म अनिवार्यरूपमा घूस लिएर मात्र काम गरिरहेको बताए।
उनले केही महिनामा ठोरीका किसानहरूले अर्काे खुशीको कुरा पाउने बताए। उनले ठोरीमा काजुखेतीका लागि सम्झौता अन्तिम चरणमा रहेको बताए। काजुको खेती शुरू भएपछि यहाँका किसानहरूले तीन वर्षपछि नगदेबालीको रूपमा काजुबाट आम्दानी गर्न सक्ने बताए।
इप्रका, सुपौलीका अधिकृत विनय गुप्ताले वंशज नागरिकता बनाउनका लागि पनि जन्मेको २५ देखि ३५ वर्ष उमेर पुगेका मानिसहरू आउने गरेकाले सर्जमिन गर्नुपरेको बताए।
प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीले गापा अन्तर्गतका कार्यहरूको सूची पस्कँदै ठोरी गापा स्वास्थ्य क्षेत्रमा प्रदेशमा छैटौं र जिल्लामा प्रथम रहेको बताए। उनले पर्साका १४ वटा पालिकामा शिक्षकलाई मासिक रुपमा तलब सुविधा दिने पालिका ठोरी मात्र भएको दाबी गरे।
उनले बाघमोर्चामा मालीबस्ती ताल, वडा नं २ मा इको टुरिज्म स्थापनाका लागि बजेट आएको र तत्काल काम शुरू हुने बताए। यसैगरी, सिंचाइका लागि काम अघि बढाएको र यसबाट ठोरीमा हुने बालीहरू सुर्ती, तोरी, मकै, आँप, धान र गहुँलगायतलाई फाइदा पुग्ने प्रप्रअ चौधरीले बताए।
वडाध्यक्ष मानबहादुर थिङको अध्यक्षतामा भएको सार्वजनिक सुनवाइ कार्यक्रममा गापा उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, वडाध्यक्षद्वय अमृतकृष्ण सापकोटा, धनमान थापालगायतको सहभागिता थियो। कार्यक्रममा शिक्षा शाखा प्रमुख भुपाल जोशीले स्वागत गरेका थिए।भने संचालन हेम चापागाईले गरेका थिए।





COMMENTS