शैलेश गुप्ता ८ कात्र्तिक पोखरिया
आम जनता पार्टी आजपा० का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका शंकास्पद रहेको आरोप लगाउँदै तत्काल राजीनामा मागेका छन्। शनिबार पर्साको पर्सागढीमा दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै साहले सरकार युवा बलिदानप्रति निष्क्रिय भएको भन्दै कडा टिप्पणी गरे। साहले भने, “भदौ २३ गते युवाहरूको छाती र टाउकोमा गोली हानियो। ती हत्यारालाई अहिलेसम्म कारबाही गर्न नसक्ने यो सरकारको औचित्य समाप्त भएको छ। गृहमन्त्री अर्याल नै लुरे परे।” उनले जेन–जी आन्दोलनका क्रममा युवामाथि भएको ‘नरसंहार’मा संलग्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अझैसम्म पक्राउ नगर्नु दुर्भाग्यपूर्ण भएको पनि बताए।
साहले वर्तमान सरकार युवाहरूको बलिदानको अपमान गरेको र हत्यारालाई बचाउने प्रयास गरेको आरोप लगाउँदै भने, “सरकार बनेको यति समय बितिसक्यो, तर हत्यारुमाथि कारबाही गर्न नसक्नुको साटो उल्टै बालेन शाह र सुदन गुरुङजस्ता आन्दोलनकारीविरुद्ध जाहेरी दर्ता गरिन्छ। अब यिनीहरूलाई कुर्सीमा बस्ने नैतिकता छैन। यदि सरकारले हत्यारालाई कारबाही गरेन भने जनता स्वयंले कारबाही थाल्नेछन्।” साहले एमाले अध्यक्ष ओलीको राक्षसी प्रवृत्तिले देशलाई दुर्घटनातर्फ धकेलेको टिप्पणी गर्दै अहिलेको सरकार “हत्याराको सेवामा समर्पित” रहेको पनि बताए। कार्यक्रममा साहले पर्सा जिल्लाको दीर्घकालीन विकासका मुद्दा पनि उठाए। उनले वीरगञ्जलाई देशको आर्थिक राजधानी बनाउने, नारायणी अस्पताललाई मेडिकल कलेज, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय र नारायणी रंगशालालाई विश्वस्तरीय खेल मैदान बनाउने माग राखे। साथै उनले विगतका मन्त्री बनेका स्थानीय नेताहरूले जिल्लाको विकासमा ध्यान नदिएको आरोप पनि लगाए।
साहले अन्त्यमा भने, “यो सरकार चुनावी सरकार हो, तर यसको पहिलो दायित्व युवाहरूका हत्यारालाई कानूनी दायरामा ल्याउने हुनुपर्छ। जनताको धैर्यको पनि सीमा हुन्छ।”





COMMENTS