पवन गुप्ता ६ कार्तिक बीरगंज
करीब २५ वर्षदेखि कुष्ठ रोग प्रभावित,अपाङ्ग, गरिब तथा भूमिहीन समुदायका अधिकारका लागि निरन्तर रूपमा आवाज उठाउँदै आएका राष्ट्रिय स्वयम् सहायता तथा सहकारी समूह ललितपुरका राष्ट्रिय उपाध्यक्ष विजय पासवानलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिनुपर्ने माग उठेको छ। पासवानले लामो समयदेखि देशभरका कुष्ठ प्रभावित,अपाङ्ग, वञ्चित र सीमान्तकृत वर्गका अधिकारका लागि अभियान सञ्चालन गर्दै आएका छन्। उनले स्वास्थ्य सेवा, आवास, शिक्षा, रोजगार र सामाजिक समावेशिताका विषयमा राज्यको ध्यानाकर्षण गराउँदै आएका छन्।
समुदायका अगुवा र विभिन्न सहकारी समूहका प्रतिनिधिहरूले भनेका छन् कि पासवानजस्ता जनसेवामा समर्पित व्यक्ति मन्त्री बनेमा कुष्ठ प्रभावित र भूमिहीन समुदायको आवाज प्रभावकारी रूपमा सरकारसम्म पुग्नेछ। उनका अनुसार, कुष्ठ रोग केवल स्वास्थ्यको विषय मात्र नभई सामाजिक न्याय र मानव अधिकारको प्रश्न पनि हो। त्यसैले नीतिगत स्तरमै परिवर्तनका लागि निर्णय क्षमतायुक्त पदमा जनप्रतिनिधि पुग्न जरुरी रहेको उनको तर्क छ। सामाजिक न्याय, समान अवसर र समावेशी विकासका क्षेत्रमा निरन्तर सक्रिय पासवानलाई मन्त्रीस्तरीय जिम्मेवारी दिएर राज्यले सामाजिक रुपान्तरणको दिशामा ठोस कदम चाल्नुपर्ने माग पनि स्थानीय समुदायहरूले गरेका छन्।





COMMENTS