शैलेश गुप्ता
जनकपुरधाम
१२औँ अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतको महावाणिज्य दूतावास, वीरगञ्जले जनकपुरधामस्थित श्री जानकी मन्दिर परिसरमा विशेष योग कार्यक्रम आयोजना गरेको छ। “स्वस्थ आयुकालागि योग” भन्ने मूल विषयवस्तुका साथ आयोजित कार्यक्रममा ६ सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो।
दूतावासले आफ्नो कन्सुलर क्षेत्रभित्र अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सञ्चालन गर्दै आएको कार्यक्रम शृङ्खलाअन्तर्गत यो पाँचौँ कार्यक्रम रहेको जनाएको छ। कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, योग साधक तथा विभिन्न निकायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख राम आशिष यादव तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले श्री जानकी मन्दिरजस्तो पवित्र स्थलमा योग कार्यक्रम आयोजना गरेकोमा भारतको महावाणिज्य दूतावासको प्रशंसा गर्नुभयो। उहाँले योगका शारीरिक, मानसिक तथा आध्यात्मिक लाभबारे चर्चा गर्दै नागरिकलाई दैनिक जीवनमा योगलाई समावेश गर्न आग्रह गर्नुभयो।
सो अवसरमा भारतका महावाणिज्यदूत देवी सहाय मीनाले नियमित योगाभ्यासले दीर्घकालीन स्वास्थ्य, एकाग्रता तथा आन्तरिक शान्ति प्राप्त गर्न सहयोग पुर्याउने बताउनुभयो। उहाँले यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको मूल सन्देशअनुरूप स्वस्थ वृद्धावस्था र सामूहिक कल्याणका लागि योगलाई जीवनशैलीका रूपमा अपनाउन सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले योगका विभिन्न आसन तथा प्राणायाम अभ्यास गर्दै स्वास्थ्य, सद्भाव र समग्र कल्याण प्रवर्द्धन गर्ने सन्देश प्रवाह गरेका थिए। आयोजकका अनुसार अन्तर्राष्ट्रिय योग दिवसलाई व्यापक रूपमा मनाउने उद्देश्यले आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ।




COMMENTS