काठमाडौं
देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबू ले विश्वभर रहेका नेवार सञ्चारकर्मीलाई एकताबद्ध गर्ने उद्देश्यसहित १० देशका लागि विदेश शाखा प्रमुख नियुक्त गरेको छ।
दबूका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सुरेन्द्र भक्त श्रेष्ठका अनुसार संस्थाको २९ वटा जिल्ला शाखा सक्रिय रहेका छन्। विदेशमा रहेका पत्रकार तथा सञ्चारकर्मीलाई संस्थासँग जोड्ने लक्ष्यका साथ विदेश शाखा विस्तार अभियान सुरु गरिएको हो।
हाल जापानका लागि चन्द्रमान महर्जन, अमेरिकाका लागि अनिल रञ्जित, नेदरल्याण्ड्सका लागि आशिष राजभण्डारी, अष्ट्रेलियाका लागि डा. राजु मानन्धर, यूएईका लागि सचिन्द्र श्रेष्ठ, पोल्याण्डका लागि अभिनाश डंगोल, क्यानाडाका लागि शिव कारञ्जित, पोर्चुगलका लागि राजेशमान जोशी, नर्वेका लागि नयन मल्ल तथा जर्मनीका लागि कुमार नापित संयोजक नियुक्त भएका छन्।
नेपाल संवत् ११३२ मा स्थापना भएको नेवाः पत्रकार राष्ट्रिय दबूले आगामी भदौ १९ र २० गते गोरखाको भिमसेन थापा गाउँपालिकास्थित नमुना बस्तीमा पाँचौँ राष्ट्रिय महाधिवेशन तथा १५औँ साधारणसभा आयोजना गर्ने तयारी गरेको छ।
महाधिवेशनअन्तर्गत संगठन विस्तार र जिल्ला अधिवेशनको प्रक्रिया पनि अघि बढाइएको छ। हालसम्म गोरखा जिल्ला शाखा ले अधिवेशन सम्पन्न गरिसकेको छ भने काभ्रे जिल्ला शाखा को अधिवेशन जेठ ३१ गते आइतबार हुने तय भएको छ।
त्यसैगरी ललितपुर, भक्तपुर र धादिङ जिल्ला शाखाले असारको पहिलो साता अधिवेशन गर्ने कार्यक्रम रहेको छ। चितवन, मकवानपुर, सुनसरी, अर्घाखाँची, दोलखा, सुर्खेत र कास्की लगायतका जिल्ला शाखाले पनि अधिवेशनको तयारी सुरु गरिसकेको संस्थाले जनाएको छ।




COMMENTS