चैत्र 18 पोखरिया, पर्सा |
पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ मा अवस्थित नापी कार्यालय पोखरियामा आजदेखि ‘एकद्वार प्रणाली’ लागू गरिएको छ। नापी विभाग अन्तर्गत रहेको उक्त कार्यालयमा सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले यो प्रणाली लागू गरिएको हो।
नापी कार्यालय पोखरियाका निमित्त कार्यालय प्रमुख उमेश साह का अनुसार अब सेवाग्राहीहरूले आफ्नो कामका लागि विभिन्न शाखा धाउनुपर्ने बाध्यता हट्नेछ। सेवाग्राहीले कार्यालयमा निवेदन दर्ता गरेपछि एकै स्थानमा बसेर सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था मिलाइएको छ।
उनले भने, “पहिले सेवाग्राहीलाई सानो कामका लागि पनि विभिन्न फाँटमा धाउनुपर्ने अवस्था थियो। अब ‘एकद्वार प्रणाली’ लागू भएपछि सबै प्रक्रिया एउटै स्थानबाट समन्वय गरी छिटो सेवा प्रदान गरिनेछ।”
यो प्रणाली लागू भएसँगै सेवाप्रवाहमा पारदर्शिता बढ्नुका साथै सेवाग्राहीको समय र खर्च बचत हुने विश्वास कार्यालयले लिएको छ। साथै, कर्मचारीबीच समन्वय सुधार भई कामको प्रभावकारिता समेत बढ्ने अपेक्षा गरिएको छ।
स्थानीयवासी तथा सेवाग्राहीहरूले पनि यस पहलको स्वागत गर्दै यसले सेवाप्रवाहलाई सहज र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेका छन्।




COMMENTS