पोखरिया । इन्धन तथा ऊर्जा बचत गर्ने उद्देश्यले सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरे पनि पोखरिया नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा आइतबार रातिसम्म बत्ती, पंखा तथा कम्प्युटरलगायतका विद्युतीय उपकरण सञ्चालनमा रहेको पाइएको छ।
आइतबार राति वडा कार्यालय परिसरमा पुग्दा कार्यालयभित्र बत्ती बलिरहेको, पंखा चलिरहेको तथा कम्प्युटर प्रणालीसमेत सञ्चालनमा रहेको देखिएको हो। सार्वजनिक बिदाको दिन सरकारी कार्यालयमा विद्युतीय उपकरण सञ्चालनमा रहनुले सरकारी स्रोत–साधनको सदुपयोग र ऊर्जा बचतप्रति प्रश्न उठेको छ।
यस विषयमा पोखरिया नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष पदका प्रत्यासी शैलेश साह कानुले सम्बन्धित सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउँदै बिदाको दिन सरकारी कार्यालयमा अनावश्यक रूपमा विद्युत् खपत भइरहेको विषयमा छानबिन तथा अनुगमन गर्न माग गरेका छन्।
सरकारले ऊर्जा तथा इन्धन बचत र सार्वजनिक खर्च घटाउने उद्देश्यले सार्वजनिक बिदाको व्यवस्था गरेको अवस्थामा बिदाको दिन वडा कार्यालयमा बत्ती, पंखा तथा कम्प्युटरलगायतका उपकरण सञ्चालनमा राखिनुको कारण सम्बन्धित कार्यालयले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।
वडा अध्यक्ष पदका प्रत्यासी साह कानुले सरकारी सम्पत्तिको संरक्षण, ऊर्जा बचत तथा सार्वजनिक स्रोतको उचित सदुपयोग सुनिश्चित गर्न सम्बन्धित निकायले नियमित अनुगमन र आवश्यक कारबाहीको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
स्थानीयवासीले पनि सार्वजनिक बिदाका दिन सरकारी कार्यालयमा अनावश्यक रूपमा विद्युत् तथा अन्य सरकारी स्रोतको प्रयोग हुने अवस्थाको अनुगमन गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न सम्बन्धित निकायसँग माग गरेका छन्।




COMMENTS