पोखरिया । इन्धन तथा ऊर्जा बचत गर्ने उद्देश्यले सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरे पनि पोखरिया नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा भने आइतबार रातिसम्म बत्ती, पंखा तथा कम्प्युटरलगायतका विद्युतीय उपकरण सञ्चालनमा रहेको पाइएको छ।
आइतबार राति वडा कार्यालय परिसरमा पुग्दा कार्यालयभित्र बत्ती बलेको, पंखा चलेको तथा कम्प्युटर प्रणालीसमेत सञ्चालनमा रहेको देखिएको हो। सरकारी कार्यालय बन्द रहने दिनसमेत यसरी विद्युत् खपत भइरहनुले सरकारी स्रोत–साधनको सदुपयोग तथा ऊर्जा बचतप्रति सम्बन्धित निकायको ध्यान कत्तिको पुगेको छ भन्ने प्रश्न उठेको छ।
सरकारले सार्वजनिक खर्च तथा ऊर्जा खपत घटाउने उद्देश्यले सार्वजनिक बिदाको व्यवस्था गरेको अवस्थामा बिदाको दिन कार्यालयमा विद्युतीय उपकरण सञ्चालनमा राखिनुको कारणबारे सम्बन्धित वडा कार्यालयले स्पष्ट पार्नुपर्ने देखिन्छ।
स्थानीयवासीले पनि सार्वजनिक बिदाका दिन सरकारी कार्यालयमा अनावश्यक रूपमा बत्ती, पंखा तथा अन्य विद्युतीय उपकरण सञ्चालनमा राख्ने प्रवृत्तिको अनुगमन गरी सरकारी स्रोतको दुरुपयोग रोक्न सम्बन्धित निकायसँग माग गरेका छन्।




COMMENTS